भीभीआईपीको उपचार नेपालमै गर्न समिति गठन, सिफारिसपछि मात्र विदेश पठाइने

भीभीआईपीको उपचार नेपालमै गर्न समिति गठन, सिफारिसपछि मात्र विदेश पठाइने

काठमाडौं : सरकारले अति विशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो। 

समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए।

‘अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणको व्यवस्था छ, अकस्मात् कुनै त्यस्तो परेछ भने, नेपालकै विशेषज्ञको टिमले गरेको सिफारिस गरेका आधारमा किन नपठाउने?’ उनले भने।

समितिले वीर अस्पतालबाट भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्ने लगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रिया बमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गर्नेछ। 

नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरे जस्तो समेत देखिएकाले सो समिति गठन गरिएको हो। 

समितिमा प्रा. डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. भोला रिजाल, प्रा. डा. शैली प्रधान, प्रा. डा. रविमान श्रेष्ठ, प्रा. डा. किरणप्रसाद श्रेष्ठ, प्रा. डा. रत्नमणि गजुरेल, प्रा. डा. सुवास आचार्य, प्रा. डा. शशी शर्मा, प्रा. डा. रमेश चाखनी, सह प्रा. डा. ध्रुव गैरे, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकारी सदस्य रहेका छन्।

साउन २१, २०८० आइतबार ११:५९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।