बाँदरले मकै सखाप पारेको तस्वीरले ओलीको मन पोलेपछि...

बाँदरले मकै सखाप पारेको तस्वीरले ओलीको मन पोलेपछि...

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी ओलीले आज (आइतबार) सामाजिक सञ्जालमा एउटा तस्वीर सेयर गरेका छन्। 

जुन तस्वीरमा दुई जना देखिन्छन्, नंग्याइएका हरिया मकैको चाङमाथि दुई जना पिरोलिएको अवस्थामा छन्। ओलीले उक्त तस्वीर सेयर गर्दै लेखेका छन्, 'हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो।' 

नेपालका पहाडी भू-भागमा बाँदर आतंकले किसानलाई पिरोलेको यो कारुणिक तस्वीर हो।

ओलीले आफूलाई सामाजिक सञ्जलामा कसैले कमेन्ट गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'कहिलेकाहीं आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र होइन, हाम्रा समस्याका तस्बिर पनि आउँछन्। तीन दिन अगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिरमा आँखा पुगे। हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो।'

खगेन्द्र पाण्डे नाम गएका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो फेसबुक वालमा उक्त तस्वीर कमेन्ट गरेका ओलीले लेखेकाछन्। 

तर उक्त तस्वीर कहाँको हो ? कुन ठाउँको हो ? त्योबारे ठेगाना खुलाइएको छैन। अध्यक्ष ओलीले तीन दिनअघि लेखेको फेसबुक स्ट्याटसमा पाण्डेले उक्त तस्वीर रिप्लाइ गरेका थिए। 

ओलीको यस फेसबुक पोस्ट यसअघिभन्दा निकै सकारात्मक प्रतिक्रिया आएका छन्। साथै उनले बाँदर आतंक तत्काल समाधान हुने गरी कदम चाल्नुपर्ने लेखेका छन्। आफूहरू सरकारमा हुँदा स्थानीय तहमार्फत समस्या समाधान गरे पनि त्यो पर्याप्त नभएको र त्यसलाई निरन्तरता दिँदै थप ध्यान दिन आवश्यक रहेको लेखेका छन्। 

नेपालमा पूर्वदेखि पश्चिम जताततै बाँदर पाइन्छन्। तराईका जंगलमा, पहाडमा भीरपहरा, मन्दिर क्षेत्रमा बस्ने बाँदर सर्वहारी जीव हो। यसले किराफट्यांग्रादेखि फल-फूल, पात, डाँठ, अन्नरतरकारी खाने गर्छ। बाँदरलाई सामाजिक प्राणीको रूपमा रूपमा लिने गरिन्छ। तर यही बाँदर नेपालका ग्रामीण क्षेत्रमा अहिले मानिसको सत्रु बनेको छ। 

भर्खर लगाइएका होस् या भित्र्याउने बेलाका बाली, बाँदरले खाने मात्र हैन नाससमेत गर्ने गरेको छ। पहाडी क्षेत्रका कतिपय गाउँ त बाँदर आतंका कारण रित्तिँदै गएका छन्। किसानहरूलाई बाँदरको सास्ती र आतंकबाट जोगिन निकै गाह्रो भइरहेको छ। 

बाँदरको आतंक र यसले गर्ने विनास रोकथाम गर्न संसदमै पनि धेरै पटक कुरा उठिसकेका छन्। बाँदर धपाउन मात्र पनि धेरैजसो स्थानीय तहले बजेट नै विनियोजन गर्नुपरेको अवस्था छ। 

 

साउन २१, २०८० आइतबार ०९:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।