भारतमा जीप दुर्घटना हुँदा नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु
भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ।
भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको यूपी४७डब्ल्यू १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय वैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दीपिका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ। शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी श्रीमती दीपिकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको सन्तोष गुप्ताले जानकारी दिए।
दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ। त्रिभुवन चोकका बासिन्दा मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन्। गुप्ताको घरमा आफन्तजन र स्थानीयको भीड लागेको स्थानीय दीपानन्द गुप्ताले बताए।
भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउन आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।
साउन २१, २०८० आइतबार ०९:१०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।