२२ दिनपछि चन्द्रमाको कक्षमा पुग्यो भारतले पठाएको चन्द्रयान ३

२२ दिनपछि चन्द्रमाको कक्षमा पुग्यो भारतले पठाएको चन्द्रयान ३

भारतले चन्द्रयान-३ लन्च गरेको २२ दिनपछि आज साँझ नेपाली समअनुसार सात बजे चन्द्रमाको कक्षमा प्रवेश गरेको छ।

यही १४ जुलाईमा पृथ्वीबाट प्रक्षेपण गरिएको उक्त यान चन्द्रमाको गुरुत्वाकर्षणमा कैद हुन सकोस भनी गति घटाइएको थियो।

गति कम गर्न इसरो (इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन) वैज्ञानिकहरूले केही समयका लागि यानका थ्रस्टरहरू निकालेका थिए।

इसेरोले X पोस्टमा यसबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। 

इसेरोले X पोस्टमा लेखेको छ-MOX, ISTRAC यो चन्द्रयान-३ हो। म चन्द्रमा गुरुत्वाकर्षण महसुस गर्छु। चन्द्रयान-३ लाई चन्द्रमाको कक्षमा सफलतापूर्वक राखिएको छ। अब अगस्ट ६, २०२३ राति करिब ११ बजे चन्द्रयानको कक्ष घटाइनेछ। अब चन्द्रयानले अवतरण गर्नुअघि ४ पटक आफ्नो कक्ष परिवर्तन गर्नेछ।

अगस्ट १ तारिखमा राति करिब १२ बजे चन्द्रयान-३ लाई पृथ्वीको कक्षबाट चन्द्रमातर्फ पठाइएको थियो। यसलाई ट्रान्सलुनर इन्जेक्सन भनिन्छ। यसअघि चन्द्रयान यस्तो अण्डाकार कक्षमा घुमिरहेको थियो, जसको पृथ्वीबाट न्यूनतम दूरी २३६ किलोमिटर र अधिकतम दूरी १ लाख २७ हजार ६०३ किलोमिटर थियो।

यो अगस्ट २३ मा चन्द्रमामा अवतरण हुनेछ।

साउन २०, २०८० शनिबार २१:०१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।