डा. सबिनाको उपचार अनुभव : पतीलाई झुक्याएर पूजा गर्न भन्दै शुक्रकीट लिएपछि बल्ल ती महिला गर्भवती भइन्
डाक्टर सबिना सिम्खडा प्रसूति तथा स्त्रीरोग अनि प्रजनन् विशेषज्ञ हुन्। तीन हजार भन्दा बढी निःसन्तान आमाहरूको ‘टेस्टट्यूब बेबी’ लगायतको चिकित्सकीय विधिबाट सन्तान लाभ गराउन उनले सघाएकी छन्। प्रजनन् विशेषज्ञलाई ‘टेस्टट्यूब बेबी’ विशेषज्ञका रूपमा समेत चिनिन्छ।
डा. सबिनाले ‘टेस्टट्यूब’ विधिबाट बच्चा जन्माउने चिकित्सकीय विधि सिकेको करिब सात वर्ष भयो। ‘टेस्टट्यूब’ मार्फत बच्चा जन्माउनुलाई अङ्ग्रेजीमा इन भिट्रो फर्टिलाइजेशन अर्थात् आईभीएफ भनिन्छ। यो कृतिम गर्भधारणको प्रक्रिया हो।
डा. सबिनाकहाँ दैनिक जसो निःसन्तानको समस्या भएका दम्पती गर्भधारणको उपाय खोज्दै पुग्ने गरेका छन्। गर्भधारणको उपाय खोज्दै पुग्ने दम्पतीहरूको आफ्नै कथा र व्यथा हुन्छन्। यसरी उनीकहाँ पुग्ने अधिकांश महिलाहरूले बच्चा नभएका कारण आफूले भोग्नुपरेको मानसिक तथा पारिवारिक लगायतका समस्या पोख्छन्।
डा. सबिना गर्भधारणको उपाय खोज्दै पुगेका महिलाहरूमा गर्भधारणका सबै चिकित्सकीय विधि अपनाउँछिन्। सबै विधि अपनाउँदा समेत गर्भधारण नभए त्यस्तो दम्पत्तीलाई कसरी सम्झाउने भन्ने विषय निक्कै तनावपूर्ण हुने उनको अनुभव छ।
श्रीमान्ले थाहै नपाइ कृतिम गर्भधारण गर्नुपर्ने त्यो बाध्यता
करिब तीन वर्षअघि दोस्रो सन्तान नभएपछि एक जना महिला डा. सबिनाकहाँ पुगिन्। पहिलो सन्तान जन्माएकी ती महिलाको दोस्रो पटक गर्भधारण नै भएनछ। गर्भधारणको लागि चिकित्सकीय उपाय खोज्दै ती महिला उनीकहाँ पुगेकी थिइन्।
महिलाको स्वास्थ्य परीक्षण गर्दा आईभीएफ विधिबाट गर्भधारण गर्नसक्ने देखियो। डा. सबिनाले त्यसका लागि प्रक्रिया थालिन्। कृतिम गर्भधारणका लागि महिलाको डिम्ब निष्काशन हुने दिन आयो।
त्यो दिन शुक्रकीट र डिम्ब निषेचन गराउनका लागि ती महिलाका श्रीमान्को शुक्रकीट चाहियो। तर, ती महिलाले आईभीएफ विधिबाट गर्भधारण गर्न लागेकोबारे श्रीमान्लाई भनेकी रहिनछिन्।
श्रीमान्को शुक्रकीट चाहिने दिन ती महिला डा. सबिनाको क्लिनिकमा पुगेर रुन थालिन्, ‘डाक्टरसाप मैले श्रीमान्लाई आईभीएफ गर्दैछु भनेको छैन। बरु अरुकै शुक्रकीट प्रयोग गर्दिनुन्।’
महिलाको कुरा सुनेपछि डा. सबिनाले अरुको शुक्रकीट प्रयोग गर्न नमिल्ने भएकाले श्रीमानलाई नै बोलाउन अनुरोध गरिन्। तर, ती महिलाले भने श्रीमान्लाई बोलाउन सम्भव नभएको बताइन्।
बुझ्दै जाँदा ती महिलाका श्रीमान्लाई पनि दोस्रो सन्तान चाहिएको थियो। तर, श्रीमतीबाट अर्को सन्तान नजन्मिए दोस्रो विवाह गरेर भए पनि उनी सन्तान जन्माउन चाहन्थे। त्यसैले ती महिलालाई कृतिम गर्भधारणका लागि श्रीमान्ले सहयोग नै नगरेका रहेछन्।
सबै कुरा बुझेपछि डा. सबिनाले ती महिलाका श्रीमान्लाई फोन गरिन् र, भनिन्, ‘तपाईंको श्रीमतीको सामान्य विधिबाट नै उपचार भइरहेको छ, त्यसैले तपाईं आएर एकपटक शुक्रकीट छाडिदिनुपर्ने भयो।’
तर, ती महिलाका श्रीमान् शुक्रकीट दिन आउन मानेनछन्। त्यसैले ती महिलाका श्रीमानलाई डा. सबिनाले क्लिनिक नआए पनि शुक्रकिट बट्टामा राखेर पठाइदिन आग्रह गरिन्। त्यसपछि भने श्रीमान् शुक्रकीट दिन राजी भएछन्।
डा. सबिनाले फोन गरेपछि ती महिला बट्टा बोकेर घर पुगिन् र श्रीमानको शुक्रकीट बट्टामा हालेर फर्किइन्। त्यसपछि उनले निश्चित चिकित्सकीय प्रक्रियाबाट डिम्ब र शुक्रकीट निषेचन गराइन्। महिलालाई कृतिम गर्भधारण गराइयो र सफल पनि भयो।
पूजा गर्न लिएको शुक्रकीटले गर्भवती
केही वर्षअघि नि:सन्तानको समस्या भएपछि एक जना महिला गर्भधारणका लागि चिकित्सकीय विधिको खोजीमा डा. सबिनाकहाँ पुगिन्। ती महिलाका श्रीमान् पनि डाक्टर नै रहेछन्।
स्वास्थ्य परीक्षणपछि ती महिलाको पनि आईभीएफ विधिमार्फत गर्भधारण गर्नसक्ने निष्कर्ष निकालिन् डा. सबिनाले। गर्भधारणका लागि श्रीमान्को शुक्रकीट पनि आवश्यक पर्ने भएकाले ती महिलाका श्रीमान्लाई पनि स्वास्थ्य परीक्षण तथा परामर्शका लागि लिएर आउन भनियो। तर, ती महिला श्रीमान्लाई नभनी भए पनि गर्भवती हुन चाहेकी रहिछन्।
श्रीमतीकै कारण बच्चा नभएको भन्दै ती महिलाका श्रीमान् अर्को विवाह गर्ने सोचमा पुगिसकेका रहेछन्। ‘टेस्टट्यूब बेबी’को झण्झट गरेर बच्चा जन्माउने सोचमा श्रीमान् रहनेछन्। ती महिला श्रीमान् मान्दैनन् भन्ने निष्कर्षमा पुगेकी थिइन्।
ती महिलाका श्रीमान् आईभीएफ विधिमार्फत गर्भधारणका लागि शुक्रकीट दिन चाहँदैनथे। तर, गर्भधारणका लागि शुक्रकीट चाहिन्थ्यो नै। शुक्रकीट लिने उपाय खोज्दै जाँदा छठको समय आयो। त्यसपछि महिलाले श्रीमान्बाट शुक्रकीट लिने आइडिया निकालिछन्।
छठको समयमा शुक्रकीटको पूजा गर्यो भने बच्चा जन्मनसक्छ रे भन्दा श्रीमान्ले शुक्रकीट दिनसक्लान् भन्ने ती महिलाले सोचिछन्। नभन्दै छठको समय आयो र श्रीमान्लाई भनिन्, ‘छठको समयमा श्रीमान्को शुक्रकीटको पूजा गर्यो भने बच्चा जन्मन्छन् रे। शुक्रकीट दिनुन, म पूजा गर्छु।’
छठमा पूजा गर्दा बच्चा जन्मिन सक्ने कुरा सुनेपछि ती डाक्टर श्रीमान्ले पत्याएछन्। र श्रीमतीलाई बट्टामा हालेर शुक्रकीट दिएछन्। त्यसपछि शुक्रकीट बोकेर ती महिला डा. सबिनाकहाँ पुगिन्।
डा. सबिनाले चिकित्सकीय विधि अपनाइ ती महिलाको डिम्ब र उनका श्रीमान्को शुक्रकीट निषेचन गराइन्। त्यसपछि भ्रूण तयार भयो र ती महिलाको गर्भधारण सफल भयो। ती महिलाको छोरा जन्मिए। उनको त्यो पहिलो बच्चा थियो।
बच्चा जन्मिएपछि महिलाको ओठमा खुसीको सीमा नै थिएन। ती महिला खुसै हुँदै डा. सबिनाप्रति कृतज्ञ भइन्। अहिले पनि ती महिला बेला–बेला बच्चा लिएर फलोअपका लागि भेट्न आउने गरेको उनले सुनाइन्।
बच्चा नहुँदा महिलामा बढी तनाव
त्यसो त केही दिनअघि मात्रै एक महिला आईभीएफ विधि अपनाएर गर्भधारणका लागि डा. सबिनाकहाँ पुगेकी थिइन्। तर, पहिलोपटकमा सफल भएनछ। त्यसपछि ती महिलाले डा. सबिनासँग रुँदै भनिछन्, ‘अब बच्चा नभएपछि मेरो श्रीमानसँग डिभोर्स हुन्छ।’
तर, ती महिलालाई नआत्तिन र प्रयास गरिरहे बच्चा हुने सम्भावना रहेको भन्दै उनले सम्झाएर घर पठाइन्। बच्चा नहुँदा अधिकांश महिलाका श्रीमान्ले श्रीमतीलाई मानसिक तनाव दिने गरेको पाइने डा. सबिनाले सुनाइन्। तर, कृतिम गर्भधारण गरेर पनि बच्चा जन्माउन सकिने भएकाले नआत्ती चिकित्सकको सल्लाहमा उपचार गराउन उनी सुझाव दिन्छिन्।
आईभीएफ विधि झट्ट सुन्दा कृतिम गर्भधारण विधि भन्ने बुझिन्छ। तर, आमाको गर्भमा नै गर्भधारण हुने भएकाले यो विधि पनि प्राकृतिक जस्तै भएको उनी बताउँछिन्। यस्तो विधिबाट गर्भधारणका लागि शारीरिक, मानसिक र आर्थिक रूपमा तयार हुनका लागि भने परामर्शको जरुरत देखिएको उनले सुनाइन्।
पहिलो पटक आईभीएफ गर्न पुगेका महिलामध्ये करिब ५० देखि ६० प्रतिशतसम्ममा गर्भधारण सफल हुने गरेको डा. सबिनाले सुनाइन्। दोस्रो र तेस्रोपटक फलोअप गर्दा भने ९० प्रतिशतसम्ममा गर्भधारण सफल हुने उनको अनुभव छ।
तर, १/२ पटक आईभीएफ गर्दा सफल भएन भने व्यक्ति हतास हुने गरेको उनले सुनाइन्। आईभीएफ विधिबाट ४/५ पटकभन्दा बढी प्रयासमा समेत गर्भधारण हुनसक्ने उनले बताइन्। डा. सबिनाले करिब दुई वर्षअघि निक्कै लामो प्रयासपछि एक जना महिलाको गर्भाधारण भएर बच्चा जन्मिएको उदाहरण सुनाइन्। ती बच्चा अहिले एक वर्षको भइसकेका छन्।
आईभीएफमार्फत गर्भधारण गर्दा आर्थिक रूपमा खर्चिलोसमेत हुने भएकाले पारिवारिक सहयोग पनि त्यतिकै आवश्यक हुन्छ। पारिवारिक, शारीरिक तथा मानसिक रूपमा पीडा भोगेका धेरै निःसन्तान महिलाहरू आफूकहाँ गर्भधारणका लागि आउने गरेको उनले सुनाइन्।
आर्थिक जोहो पनि आवश्यक हुने भएकाले कतिपय पैसा नभएका यस्ता निःसन्तानको समस्या भएका दम्पतीका लागि निःशुल्क उपचार गरी गर्भधारणको प्रक्रिया अपनाइदिएको अनुभवसमेत उनीसँग छ।
बाँझोपन आउनुमा महिला पुरुष दुवै बराबर जिम्मेवार
निःसन्तान दम्पत्तीमध्ये अधिकांश पुरुषहरूले श्रीमतीकै कमजोरीका कारण बच्चा नजन्मिएको सोच राख्ने गरेको डा. सबिनाको अनुभव छ। त्यसैले निःसन्तानको समस्या भएका दम्पत्तीमध्ये अधिकांश महिला मात्रै स्वास्थ्य परीक्षणका लागि आफूकहाँ आउने गरेको उनले सुनाइन्।
गर्भधारणका लागि पुरुष र महिला दुवै बराबर जिम्मेवार हुन्छन्। पुरुषको शुक्रकीटको मात्रा, आकार र चालको कमीले समते गर्भधारण नहुने उनले सुनाइन्। गर्भधारणका लागि महिलाको डिम्ब निष्काषन (ओभुलेशन), भु्रण र पुरुषको शुक्रकीट जस्ता विषयमाा भरपर्ने उनको भनाइ छ।
धुमपान, मद्यपान, तातो घाममा काम गर्ने, तनाव तथा डिप्रेशन, अस्वस्थकर खानपान तथा जीवनशैली, विभिन्न किसिमका रोगजस्ता कारणले पुरुष बाँझोपनको समस्या बढिरहेको समेत देखिएको डा. सबिना बताउँछिन्। ढिलो विवाह गर्नेजस्ता कारणले पनि बाँझोपनको समस्या देखिने गरेको उनले सुनाइन्।
विशेषगरी महिलाले २३ देखि ३० वर्षको उमेरभित्र बच्चा जन्माइसक्नु उचित हुने डा. सबिना बताउँछिन्। ढिलो बच्चा जन्माउने योजना बनाउँदा महिलामा गर्भधारणको क्षमता नै कमजोर हुँदै जान्छ भन्छिन् डा. सबिना।
विकल्पमा आईभीएफ गर्भधारण
नियमित रूपमा यौन सम्पर्कमा बसेका दम्पत्तीमा विभिन्न चिकित्सकीय विधि अपनाउँदा समेत गर्भधारण नभएको खण्डमा स्वास्थ्य परीक्षण गरिन्छ। विभिन्न चिकित्सकीय विधि अपनाउँदा समेत गर्भधारण नभए विकल्पका रूपमा आईभीएफ विधिमार्फत गर्भधारण गराउन सकिने डा. सबिनाले जानकारी दिइन्।
महिलाको अल्ट्रासाउण्ड गरी डिम्ब निष्कासन हुने समय पत्ता लगाएर गर्भधारणका लागि त्यही समयमा यौन सम्पर्क गर्नसकिने उनी बताउँछिन्। सन्तान चाहनेका लागि कतिपय अवस्थामा यो विधि अपनाएर गर्भधारण गराउनुपर्ने हुन्छ। कतिको त आईभीएफ विधिबाट बच्चा जन्मिएपछि समेत अर्कोपटक प्राकृतिक रूपमा नै गर्भधारण हुने गरेको उनले सुनाइन्।
अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान जस्ता मुलुकमा बस्ने नेपालीहरूसमेत ठूलो मात्रामा नेपालमा आईभीएफ विधिमार्फत गर्भधारणका लागि आउने गरेको डा. सबिनाको अनुभव छ। सस्तो र सजिलोका लागि उनीहरू नेपाल आउने गरेको डा. सबिना बताउँछिन्।
जन्म काठमाडौं, रोजाइ आईभीएफ
वि.सं. २०४० मा काठमाडौंको महाराजगञ्जमा जन्मिएकी सबिनाले सिद्धार्थ बनस्थली इस्टिच्युटबाट एसएलसी र आईएस्सी गरिन्।
काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट सन् २००७ मा एमबीबीएस अध्ययन सकेकी डा. सबिनाले उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा करिब डेढवर्ष काम गरिन्। त्यही बीचमा उनको विवाह भयो। उनका दुई जना बच्चा छन्।
एमबीबीएस अध्ययन सकेको दुई वर्षमा डा. सबिनाले नेपालगञ्ज मेडिकल कलेजमा स्नातकोत्तर तहको प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययन थालिन्। सन् २०१४ मा एमडी अध्ययन पूरा भयो।
अध्ययन सकेपछि नेपालगञ्ज मेडिकल कलेजमै करिब ६ महिना लेक्चररका रूपमा काम गरिन्। त्यसपछि काठमाडौं फर्किएर केही समय मेडिकेयर अस्पतालमा काम गरिन्।
सन् २०१६ बाट डा. सबिना काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा काम गर्न थालिन्। त्यही बेला उनले आईभीएफ सम्बन्धी ज्ञान तथा सीप सिक्ने मौका पाइन्। उनलाई एमडी अध्ययन गर्दादेखि नै अन्य विषयको तुलनामा यो विषयप्रति बढी चासो लाग्थ्यो।
भेनसमा आठ वर्ष काम गरेपछि डा. सबिनाले वात्सल्य आईभीएफ सेन्टरमा काम गर्न थालिन्। त्यहाँ उनले साढे तीन वर्षभन्दा बढी काम गरिन्। त्यहाँ काम गर्दा आईभीएफ सम्बन्धी थप सिक्ने मौका पाइन्।
त्यसपछि भने डा. सबिना आफैँले तीन वर्षअघि बानेश्वरमा बरदान फर्टिलिटी सेन्टर खोलिन्। उनी यही सेन्टरमार्फत निःसन्तान भएकालाई सन्तान लाभ गराउने गर्छिन्। महिलामा भएका रोग तथा प्रजनन् सम्बन्धी समस्याको समाधान गर्नु उनको दैनिकी हो।
साउन २०, २०८० शनिबार १९:५९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।