पहिले भोट दिनुभएन, अहिले अधिकार खोजेर पाइँदैन : मन्त्री मोदी

पहिले भोट दिनुभएन, अहिले अधिकार खोजेर पाइँदैन : मन्त्री मोदी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले आदिवासी जनजातिको अधिकारको पक्षमा लडेको पार्टीलाई भोट नदिएपछि अधिकार खोजेर नपाइने बताएका छन्।

विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा तराई मधेश राष्ट्रिय परिषद्ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री मोदीले आदिवासी जनजातिको अधिकारको पक्षमा लडेको पार्टी माओवादीलाई मत नदिएपछि अधिकार खोजेर नपाइने बताएका हुन्।

उनले भने, ‘बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइँदैन। भोट दिनेबेला आदिवासी जनजातिको एजेण्डा उठाउनेलाई दिनुपर्ने थियो, दिनुभएन। अब अहिले अधिकार खोजेर पाइँदैन पनि।’

मन्त्री मोदीले भाषणा गरेर मात्र अधिकार प्राप्त नहुने भन्दै त्यसका लागि संघर्षमा जानुपर्ने धारणा राखे। उनले संघर्षका विभिन्न स्वरूप हुनेसमेत प्रष्ट पारे।

‘संघर्षका विभिन्न मोडल छन्, एउटा मोडल भनेको संघर्षबाट राज्य सत्ता कब्जा गर्ने हो। अर्को भनेको चुनावी मैदानमा गएर आफ्नो एजेण्डालाई संस्थागत गर्ने हो,’ उनले थपे, ‘आदिवासीहरूको थप अधिकार प्राप्तिका लागि यी सबैखाले संघर्ष आवश्यक छ।’

देशभित्रका आदिवासी जनजातिबीच एकताको खाँचो रहेको भन्दै मन्त्री मोदीले पूर्वदेखि पश्चिमसम्मका सबै जनजातिहरू एक भएर अगाडि बढे मात्रै लक्ष्यमा पुग्न सम्भव हुने बताए।

साउन २०, २०८० शनिबार १८:३४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।