चर्कियो चिया मजदुर आन्दोलन, भदौ ७ देखि बगान बन्द गर्ने चेतावनी

चर्कियो चिया मजदुर आन्दोलन, भदौ ७ देखि बगान बन्द गर्ने चेतावनी

झापा : वर्षौंदेखि चिया मजदुरहरूको  समस्याको समाधान हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका चिया मजदुरहरूले पुनः एकपटक आन्दोलनलाई तीव्र बनाएका छन्।

झापाका विभिन्न बगानमा कार्यरत मजदुर र मालिकबीच असमझदारी बढ्दै गएपछि यतिबेला सबै मजदुर सडक आन्दोलन गरिरहेका छन्।

सरकारले बनाएको कानुनको बगान सञ्चालकहरूले उल्लंघन गरेको, महँगी बढर दुई छाक खानसमेत धौधौ परेको बेला सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नदिएको, श्रमको शोषण गरेकोलगायतका आरोपसहित श्रम ऐन २०७४ लागू गरिनुपर्ने उनीहरूको माग रहेको छ। 

आज पूर्वी सीमानाका काँकडभिट्टाअन्तर्गत इलाका प्रहरी कार्यालय अगाडि बीच सडकमा विभिन्न नाराबाजीसहित कोणसभामा भेला भएका मजदुरहरूले राज्य र मालिकले गरिब मजदुरहरूको आवाज नसुनेको भन्दै सडकमा उत्रन बाध्य भएको बताएका छन्।

उनीहरूले मजदुरको पारिश्रामिक बढाउनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्नेलगायतका विभिन्न माग राख्दै आन्दोलन गरेका हुन्। 

जिल्लाका विभिन्न बगानमा कार्यरत सयौंका संख्यामा उपस्थित मजदुरहरूले सडकमा प्रदर्शन गर्दै ‘न्यूनतम पारिश्रामिक वृद्धि गर’, ‘पत्ती डबली वृद्धि गर’, ‘रोजगार सम्झौता लागू गर’, 'श्रम शोषण बन्द गर', 'योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर', लगायत नाराबाजी गरेका छन्। 

‘विगत ३ वर्षदेखि मजदुरको पारिश्रामिक नबढेको र पटकपटक यस विषयमा छलफल गर्दासमेत बगान मालिक र सरकारले बेवास्ता गरेका कारण आन्दोलनमा उत्रनुपरेको अखिल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भुपाल सापकोटाले बताए।

मजदुरहरूले कुनै ठूलो अपेक्षा राखेर आन्दोलन नगरेको बताउँदै सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने, सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने माग रहेको सापकोटाले बताए।

यदि मजदुरहरूको आन्दोलनलाई बेवास्ता गरे भदौ ७ गतेबाट सबै बगान ठप्प पार्नेसमेत उनले चेतावनी दिएका छन्।

अहिले चिया मजदुरहरूले दैनिक ४ सय ३५ रुपैयाँ मात्रै पारिश्रामिक पाउँदै आएका छन्। र, उक्त पारिश्रामिकलाई बढाएर ५ सय २५ बनाउनुपर्ने मजदुर नेता दीपक तामाङले बताए।

बजारमा हरेक चिजबिजको मूल्य आकाशिएको तर मजदुरहरूको ज्याला भने नबढेका कारण बाध्य भएर सडकमा उत्रनुपरेको उनले उनले बताए।

पटकपटक भएको छलफल बिनानिष्कर्ष टुंगिएको र मजदुरहरूको आवाज नसुनेका कारण सडकमा उत्रिएका पनि अधिकांश मजदुर नेताहरूले बताएका छन्।

भदौ ७ गतेसम्म मजदुरहरूको समस्या समाधान नभए देशभरका चिया बगान बन्द गर्नेसमेत उनीहरूले चेतावनी दिएका छन्।

आन्दोलनमा मजदुर नेता भुपाल सापकोटा, दीपक तामाङ, सन्तबहादुर राई,  यज्ञप्रताप अधिकारी लगायतले सम्बोधन गरेका थिए। 

साउन २०, २०८० शनिबार १७:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।