यु-१९ साफ च्याम्पियनसिपका लागि एन्फाले पारित गर्यो २ करोड ६० लाख बजेट

यु-१९ साफ च्याम्पियनसिपका लागि एन्फाले पारित गर्यो २ करोड ६० लाख बजेट

काठमाडौं : १९ वर्षमुनिको साफ च्याम्पियनसिप आयोजनाका लागि २ करोड ६० लाख ७२ हजार रुपैयाँको बजेट पारित भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको पाँचौ कार्यसमिति बैठकले उक्त प्रतियोगिताको लागि १ लाख ९८ हजार २८६ अमेरिकी डलर अर्थात २ करोड ६० लाख ७२ हजार रुपैयाँको बजेट पारित गरेको हो।

असोज ४ देखि १३ गतेसम्म काठमाडौंमा हुने प्रतियोगिताको टिकेटिङ्ग अधिकारको लागि न्यूनतम १५ लाख कायम गर्दै १५ दिने सुचना जारी गर्ने निर्णय गरेको बैठकले साधारण र भीआइपी तर्फको टिकटदर क्रमशः १०० र ३०० रुपैयाँ तोकेको छ।

बैठकले महिला फेन्चाईज लिगको ब्रोडकास्टिङ्ग र डिजिटल राईट्स नेपाल स्पोर्टस सेन्टर प्रालिलाई र फुटसल लिगको मार्केटिङ्ग, ब्रोडकास्टिङ्ग र डिजिटल राइट्स डिजिफल्याई ब्राण्डिङ्ग एजेन्सीलाई प्रदान गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

यस्तै एन्फाले गत मार्च २२ देखि ३१ सम्म आयोजना भएको थ्री नेसन कप २०२३ को प्रथम पुरस्कार पाँच हजार अमेरिकी डलर राष्ट्रिय टिमका खेलाडीहरूलाई दामाशाही रुपमा वितरण गर्ने निर्णयसमेत गरेको छ।

संघको विशेष साधारण सभा २०८० भाद्र २४ गते तथा नियमित साधारण सभा २०८० आश्विन २९ गते आयोजना गर्ने निर्णय गरेको बैठकले एन्फाको खरिद समिति महेन्द्र क्षेत्रीको संयोजकमा तीन सदस्यीय समिति गठन गरेको छ।

त्यसैगरी राष्ट्रिय फुटबल टोलीमा खेलको दौरान घाइते भएका राष्ट्रिय खेलाडीहरूको उपचार गर्दाको बिलअनुसारको सम्पूर्ण खर्च एन्फाले भुक्तानी गर्ने निर्णयसमेत गर्यो।

साउन २०, २०८० शनिबार १६:२०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।