बाढी-पहिरोको पूर्व सूचनामा एनसेल र विभागको सहकार्य, दुई महिनामा पठाइयो ४४ लाख अलर्ट मेसेज

बाढी-पहिरोको पूर्व सूचनामा एनसेल र विभागको सहकार्य, दुई महिनामा पठाइयो ४४ लाख अलर्ट मेसेज

काठमाडौँ : वर्षायामको प्रारम्भसँगै सुरु भएको बाढी पहिरोको क्षति कम गर्न  एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानका स्थानीयलाई एसएमएस मार्फत पूर्व सूचना दिन थालेको छ।

दुई महिनामै एनसेलले सम्भावित जोखिमबारे ४४ लाख भन्दा बढी बाढी पहिरो सम्बन्धी अलर्ट मेसेज पठाएको छ।

एनसेलका अनुसार नारायणी, कंकाई, बाग्मती, बबई, राप्ती, कोसी, कर्णाली लगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरू रहेकाहरूलाई एसएमएस अलर्ट पठाइएको हो।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्व सूचना दिँदै आएको छ।

पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ। त्यसैगरी विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ।

पानीको सतह सामान्य अवस्थामा फर्किएपछि तत्काल कुनै खतरा रहे या नरहेकोबारे समेत सम्बन्धित क्षेत्रका स्थानीयले एसएमएसबाट जानकारी पाउने गरेका छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर  कायुमोभले नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैँ प्रतिबद्ध रहेको बताए।

उनले एनसेल र विभागबिचको सहकार्य, सार्वजनिक–निजी साझेदारीमा कसरी जनसमुदायका लागि प्रभावकारी कार्यहरू गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताए।

जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्रि स्टेसनहरूमार्फत नदीमा पानीको सतहको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँछ। एनसेलले त्यसैअनुरूप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरूलाई तत्काल त्यो सूचनालाई सर्ट कोड ११५५ बाट एसएमएस पठाउने गरेको छ।

११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर हो। यसमा कल गरेर नदीमा पानीको सहतको स्थिति र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ।

महाशाखाका अनुसार, जोखिम क्षेत्र भनेर पहिचान गरिएका क्षेत्रहरूभित्र रहेका जनसमुदायबाहेक, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र जस्ता विपद् जोखिम न्यूनीकरण कार्यमा संलग्न संस्थाहरू पनि आवश्यक पूर्व तयारी र प्रतिकार्यका लागि यस्ता एसएमएस अलर्ट पठाइन्छ ।

एनसेल र विभागको निरन्तर सहकार्य अन्तर्गत गत वर्ष एनसेलले ७८ लाख भन्दा बढी यस किसिमका पुर्वसूचना बाढीको जोखिम रहेको ठाउँका स्थानीयलाई पठाएको थियो।

सन् २०७३ मा सुरु भएको सहकार्यलाई सन् २०७५ मा एनसेलले विपत् पुर्वतयारीलाई थप प्रभावकारी बनाउँदै नयाँ समझदारी गरेको थियो।

जल तथा मौसम सम्बन्धित अन्य विपद्हरूमा पनि पूर्व सूचना प्रणाली लागु गर्नका लागि सम्भावनाहरू माथि अध्ययन भइरहेको एनसेलले जानकारी दिएको छ।

पूर्व सूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनीकरणमा थप  योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्रि उपकरणहरू जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेसनहरू विस्तार गरे सँगै  एनसेलले त्यस्ता स्टेसनहरूलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जाने एनसेलको विज्ञप्तिमा उल्लेख छ। 

साउन २०, २०८० शनिबार १६:०८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।