म प्रजातन्त्रवादी हुँ, मिडियालाई नियन्त्रण गर्ने कानून बन्दैन : मन्त्री गुरुङ

म प्रजातन्त्रवादी हुँ, मिडियालाई नियन्त्रण गर्ने कानून बन्दैन : मन्त्री गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति एवं कानून न्यायत तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मिडिया क्षेत्रलाई नियन्त्रण गरेर कुनै कानून नबनाउने प्रतिबद्धता जनाएका छन्।

बुधबार काठमाडौंमा भएको प्रेस युनियनको कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन्। प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतामा बोलेका साथीहरूले मिडिया सम्बन्धी विधेयक बनाउने क्रममा सुझाव दिन आग्रह गरे।

‘म प्रजातन्त्रीवादी हुँ, प्रजातन्त्रवादीले मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने खालको कानून बन्छ भन्ने सोच्नै सक्दिन,’ उनले भने, ‘केही नेताहरू बस्दाखेरी मिडिया क्षेत्रको बारेमा नभएर सोसल मिडियालाई नियमन गर्ने कुरा उठेकै हो।’

प्रजातन्त्र स्थापना र पुनर्स्थापनाका लागि मिडिया क्षेत्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै मन्त्री गुरुङले प्रजातन्त्रको चीरहरण हुनेगरी विधेयक र कानून नबन्नेमा ढुक्क हुन युनियनका पदाधिकारीलाई आश्वस्त पारे।

मिडिया विधेयकको सम्बन्धमा सल्लाह गर्न सकिने र सञ्चारमन्त्रीसँग पनि छलफल गर्ने उनको भनाइ छ। उनले युनियनका पदाधिकारीलाई अझ मन्थन गर्न आग्रह गर्दै यस विषयमा पुनः छलफल र बहस गर्न सकिने बताए।

साउन २०, २०८० शनिबार १५:१४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।