जंगली च्याउ खाँदा जाजरकोटमा १८ वर्षीय छोराको मृत्यु, आमा सिकिस्त

जंगली च्याउ खाँदा जाजरकोटमा १८ वर्षीय छोराको मृत्यु, आमा सिकिस्त

जाजरकोट : जंगली च्याउ खाँदा एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी भएका छन्।

विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका-४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो। मृतककी ५० वर्षीया उनकी आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ।

आमा, छोराले जंगलबाट ल्याएको च्याउ खाएका थिए। च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनलाई थप उपचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए।

जंगलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन्।

साउन २०, २०८० शनिबार ०९:०२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।