युक्रेनको दाबी : हामीले ब्लाक सीमा रुसी जहाजमाथि आक्रमण गर्‍यौँ

युक्रेनको दाबी : हामीले ब्लाक सीमा रुसी जहाजमाथि आक्रमण गर्‍यौँ

युक्रेनले ब्लाक सीमा रुसी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ।

रुसको नोभोरोसियस्क बन्दरगाह नजिक शुक्रबार आक्रमण भएको हो। जसका कारण खाद्यान्न सम्झौता सकिएपछि रुस-युक्रेन युद्ध फेरि ब्लाक सीसम्म पुगेको हो।

आक्रमण भएको बन्दरगाह रुसको प्रमुख निर्यात केन्द्र हो। युक्रेनले आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ। यसमा समुद्री ड्रोन जहाजसँग ठोक्किएको देख्न सकिन्छ।

युक्रेनले रुसी जहाजसँग ड्रोन ठोक्कँदा त्यसमा ४५० किलो डाइनामाइट रहेको बताएको छ। तर, रुसले ड्रोनबाट कुनै पनि क्षति नभएको भन्दै खण्डन गरेको छ।

बीबीसी रिपोर्टका अनुसार युक्रेन ड्रोनसँग ठोक्किएको रूसी जहाज ओलेनोगोर्स्की गोर्न्याक हो। अवतरण जहाज सेना र कार्गो बोक्न प्रयोग गरिन्छ।

रुसी रक्षामन्त्री युद्धक्षेत्रको अवलोकनमा पुगे

युक्रेनले ब्ल्याक सीमा रुसी जहाजमाथि आक्रमण गरेको दाबी गरेपछि रुसी रक्षामन्त्री सर्गेई शोइगुले क्रिमियामा आक्रमण गर्न गएका १० युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएका छन्। 

अहिले रुसी रक्षामन्त्री सर्गेई शोइगु युद्धक्षेत्रको निरीक्षण गर्न अग्रपंक्तिमा छन्। यहाँ उनले रुसी कमाण्डरबाट युद्धसँग सम्बन्धित नयाँ जानकारी लिएका छन्। यसअघि रुसले ब्ल्याक सीमा रहेको रुसी नौसैनिक अखडामा युक्रेनी आक्रमणलाई फिर्ता लिएको बताएको थियो। 

‘हामीलाई अमेरिकामाथि विश्वास छैन’

रुस गत महिना ब्ल्याक सी अन्न सम्झौताबाट बाहिरिएको थियो। जसका कारण विश्वभर खाद्यान्न संकट फैलिन थालेको छ। यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग टेलिफोन वार्ता गरेका छन्। यस क्रममा पुटिनले मस्कोको हितको रक्षा भएमा ब्ल्याक सी सम्झौतामा फर्किने बताएका छन्। 

तर, त्यसको एक दिनपछि अर्थात् आज रुसले अमेरिकालाई विश्वास नगर्ने बताएको छ। एर्दोगानसँग पुटिनको वार्तापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका थिए, 'अमेरिकाले ब्ल्याक सी ग्रेन डिल सम्झौतालाई पुनः कार्यान्वयन गर्न जे पनि गर्न सक्छ। ता कि अन्न फेरि संसारमा पुग्न सकोस्।'

साउन २०, २०८० शनिबार ०७:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।