झापा कारागारको लफडा साम्य

झापा कारागारको लफडा साम्य

बिर्तामोड : दिनभरजसो तनावग्रस्त बनेको झापा जिल्ला कारागार भद्रपुर कैदिबन्दी र बाह्य प्रशासनबीचको विवाद वार्तापछि साम्य भएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि कारागार शान्त बनेको जेलर मोहनलाल पनेरुले जानकारी दिए।

कारागारका भाइ चौकीदार मनोज लावतीलाई शुक्रबार झुम्का कारागार सरुवा गर्ने योजनासहित हतकडी लगाएर बहिर निकालिएपछि उनका पक्षधरले नाराजुलुस र तोडफोड शुरू गरेका थिए।

उनीहरूले तोडफोड र टायर बालेर आन्दोलन गर्दै भाइ चौकीदारलाई कुनै हालतमा सरुवा गराउन नपाइने बरु चौकीदार लय सिवाकोटीलाई हटाउनुपर्ने माग राखेका थिए।

बाह्य प्रशासनका प्रमुखहरूले कैदीबन्दीहरूले राखेको माग सम्बोधन गर्ने आश्वासन दिएपछि अवस्था सामान्य बनेको हो। उनीहरूको मागलाई उचित ढङ्गबाट सम्बोधन गर्ने भनेपछि अशान्त बनेका कैदीवन्दीहरु शान्त भएका छन्।

झापा कारागारका जेलर पनेरुका अनुसार लावतीलाई झुम्का कारागार सरुवा गर्ने तयारी थियो। लावतीलाई हत्कडी लगाउन साथ होहल्ला गरेपछि कैदीबन्दीले झडप गरेका थिए।

भाइ चौकीदार लावतीलाई सरुवा गर्न प्रमुख चौकीदार शिवाकोटीले भूमिका खेलेको भन्दै उनलाई जेलबाट हटाएर अर्को ठाउँ सरुवा गर्नुपर्ने माग राखेका छन्। वार्तामा कैदीवन्दीलाई भित्रको सुरक्षा व्यवस्थालाई व्यवस्थित नगरे राज्यले आफ्नो ढंगबाट प्रक्रिया अघि बढाउने बाह्य प्रशासनले चेतावनी दिएको छ।

साउन १९, २०८० शुक्रबार २०:५४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।