कृष्णबहादुर महरालक्षित गर्दै रविले भने- सामान्य सोधपुछ गर्नसमेत आँट देखाएन प्रहरीले

कृष्णबहादुर महरालक्षित गर्दै रविले भने- सामान्य सोधपुछ गर्नसमेत आँट देखाएन प्रहरीले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरालाई प्रहरीले सोधपुछ गर्ने आँटसमेत नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सुन तस्करीमा महराकोसमेत नाम जोडिएको भए पनि प्रहरीले सामान्य सोधपुछ गर्नसमेत आँट नदेखाएको बताए। प्रहरीले मिडिया ट्रायल गरिरहेको उनको भनाइ छ।

उनले भने, ‘अहिले समस्या के भइरहेको छ भने प्रहरीलाई गाह्रो भयो प्रहरीले मिडिया ट्रायल गरिदिएको छ। सामान्य सोधपुछ समेत गर्नसक्ने आँट देखिँदैन। यो त उहाँलाई पनि निर्दोष प्रमाणित हुने अवसर त दिनुपर्ला नि जो माथि आरोप लागेको छ।’

महरा निर्दोष हो भने त्यसको प्रमाणित पनि अनुसन्धानले गर्ने भन्दै उनले आफ्नो माेबाइलमा सयौँपटक भएका कुराकानीको स्वामित्व लिनुपर्नेमा जोड दिए।

उनले भने, ‘उहाँ निर्दोष हो भने उहाँलाई पनि त आफू निर्दोष हुँ भन्ने ग्राउन्ड त अनुसन्धानले नै देला। यदि त्यो मोबाइल उहाँको हो रहेछ भने त त्यो मोबाइलमा भएका कुराकानी, सयौँपटक भएको कम्युनिकेसन, कुराकानीको स्वामित्व त फोन जसको हो उसले त लिनुपर्ला। मैले चलाएको मेरो टेलिफोन नम्बर मेरो हो कि होइन भन्ने कुराको अनुसन्धान गर्न पनि यति धेरै टाउको दुखाउनुपर्छ र? अनुसन्धान कसले गर्ने?’

सांसद लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने भन्दै संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराधलगायतका विषय पनि जोडिएकाले वृहत अध्ययन हुनुपर्नेमा जोड दिए।

‘सुन तस्करी प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राजस्व अनुसन्धानले सुरुवात गर्यो। ठिक छ प्रशंसै गरौँ, अहिलेलाई। तर, यो विषयलाई यतिमा मात्रै सीमित राख्नुपर्ने अवस्था रहेन। किनभने यसमा संगठित अपराध पनि जोडियो। सम्बन्धित मान्छेले कुन ढंगले, कसरी पासपोर्ट र नागरिकता प्राप्त गरेको भन्ने विषय पनि आयो। अन्तरदेशीय अपराध पनि यहाँ देखियो,’ उनले भने।

साउन १९, २०८० शुक्रबार १९:२५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।