माओवादी बैठकको तेस्रो दिनमा थपिए २२ केन्द्रीय सदस्य

माओवादी बैठकको तेस्रो दिनमा थपिए २२ केन्द्रीय सदस्य

काठमाडौं : माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

‘अध्यक्षले प्रस्तुत गरेको प्रस्तावको मूल मर्मभित्रै रहेर सदस्यहरुले धारणा व्यक्त गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘अधिकांश सदस्यले पार्टी रुपान्तरण, जनतालाई पार्टीसँग जोड्नुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराउनुभयो।’

बैठक शनिबार बिहान ११ बजे पुनः बस्नेछ। 

केन्द्रीय समितिमा ३५ प्रतिशत महिला
माओवादीले मातहतका समितिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार केन्द्रीय समितिमा महिला सदस्य थप गरेको छ। माओवादीले जारी केन्द्रीय समिति बैठकबाट २४ जना महिलालाई केन्द्रीय समितिमा ल्याएको छ।

महिलाको सङ्ख्या थपिएसँगै माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय पुगेको छ। विधानमा भएको व्यवस्थाअनुसार पार्टी कमिटीमा महिलाको सङ्ख्या ३५ प्रतिशत पुर्याउने गरी महिला केन्द्रीय सदस्य मात्र थप गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

साउन १९, २०८० शुक्रबार १९:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।