मध्यमधार : अन्तरलिङ्गी इसान जो ‘पूर्वजन्मको पाप’को भ्रम चिर्ने सङ्घर्षमा छन् (भिडियो सहित)
‘बधाई छ! तपाईंको छोरा भयो।’, ‘बधाई छ! तपाईंको छोरी भयो।’
यी दुवै वाक्य त हामीले सुनिरहेकै हुन्छौँ। बच्चा बेला छोरा/छोरी भनेर छुट्टयाइने भनेकै लैङ्गिक चिन्हबाट हो। तर, त्यो नै अस्पष्ट छ भने?
छोरा/छोरी दुवैको चिन्ह देखियो भने वा छोरा भनेर हुर्काउँदै आएको बच्चा किशोरावस्थामा पुग्दा छोरीजस्तो भयो अनि छोरी भनेर हुर्काएको बच्चा छोरा भयो भने त्यसलाई ‘असामान्य’, ‘अप्राकृतिक’ वा ‘पूर्वजन्मको पाप’। के मान्ने?
उनीहरू ‘अन्तरलिङ्गी’ हुन् र आफैँमा प्राकृतिक पनि। क्रोमोजमहरूले गर्दा शरीरमा आउने परिवर्तन। तर, त्यति बुझ्न नमानेर अन्तरलिङ्गीलाई रोग मान्ने, विभेद गर्ने, बारम्बार ऊ फरक हो भनेर जताउने अनि मानसिक रूपमा उसलाई विक्षिप्त बनाउन हाम्रो समाजमा भरपुर प्रयास हुने गर्छ।
त्यस्तै अरूभन्दा ‘फरक’ भनेर चिनिन बाध्य बनाइएका व्यक्ति हुन्, इसान रेग्मी। उनी जन्मिँदा छोरी भएर जन्मिए। सबै साथीहरू पनि छोरी मान्छे नै भए। उनलाई घरमा पनि छोरी भनेर नै हुर्काइयो। तर, किशोरावस्थामा पुग्दै गर्दा हुने शारीरिक परिवर्तन भने ‘किशोरी’ को जस्तो नभएर ‘किशोर’को जस्तो हुन थाल्यो।
उनको आवाज धोत्रो भयो, महिनावारी भएन, स्तन पनि अन्य साथीको तुलनामा बढेन अनि दारीजुँगा आउन थाल्यो। शारीरिक परिवर्तनसँगै उनको समाजमा उनलाई हेरिने दृष्टि पनि परिवर्तन हुन थाल्यो। उनको त्यस्तो शारीरिक परिवर्तन समाजले परिभाषित गरेको ‘महिला’ र ‘पुरुष’भित्र अटाएन। ‘पूर्वजन्मको पाप’को रूपमा उनलाई हेरियो। उपचार गर्योल भने ठिक हुन्छ कि भनेर उपचार पनि गरियो। तर, अन्तरलिङ्गी हुनु भनेको रोग नै थिएन, निको हुनलाई।
विभेद भोग्नुको विकल्प नै भएन
उपचार गरेपछि पनि निको नभएपछि त झन् उनले विभेद भोग्नेबाहेक अरु विकल्प नै भेटेनन्। उनी मानसिक रूपमा विक्षिप्त बन्दै गए।
‘अनि मलाई पनि संसारमा म मात्र यस्तो रहेछु। मलाई किन भगवानले जन्माएको भन्ने लाग्यो’, इसानले भने।
विकसित भनिएको ठाउँमा अहिले त यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको कुरा सुनिँदैन भने त्यो बेला बाजुराजस्तो दुर्गम गाउँमा यसबारे कसैलाई थाहा हुने कुरै भएन।
उनी भन्छन्, ‘म आफैँ पनि अन्योलमा थिएँ। जुन हिसाबले म मा शारीरिक विविधताहरू देखियो त्यसको बारेमा पढ्नको लागि न कुनै शैक्षिक सामग्री थियो, न कुनै रेडियो, टेलिभिजन र पत्रिकामा नै छापिन्थ्यो।’
अहिले यस समुदायको बारेमा केहि कुराहरू हुन थाले पनि अन्तरलिङ्गीको बारेमा भने अझै धेरै नलेखिएको उनले बताए।
‘यौनिक तथा लैंगिक अल्पसंख्यक भित्र पर्छ भन्ने बाहेक खासै धेरैलाई यसबारे थाहा पनि छैन,’ उनले भने, ‘सबैले मलाई छुट्टै किसिमको व्यवहार गर्थे। यो त छोरा पनि होइन छोरी पनि होइन भन्थे। तर, मैले आफूले आफूलाई चाहिँ छुट्टै हो भन्ने कहिल्यै पनि महसुस गरिनँ। तर, मान्छेले गरेको छुट्टै व्यवहारले म छुट्टै हो भन्ने पारिदियो।’
उनले समाजको विभेदको सामना गर्न नसकेर आत्महत्याको प्रयाससमेत गरे। तर राम्रै भयो त्यो असफल भयो।
‘समाजले बुझ्ला, त्यो विभेद घट्ला भन्ने त कुरै भएन। मैले आज भन्दा भोलि झन्-झन् विभेद बढी भोग्नुपर्यो। हाम्रो छोराछोरी अरु जस्तो हो र भनेर मलाई इंगित गरिन्थ्यो।’
त्यतिबेला अहिले को जस्तो सूचनाको स्रोत र साधन प्रयोगमा थिएन। यसबारे कुरा गर्ने वातावरण त अहिले पनि धेरै ठाउँमा सिर्जना भइसकेको छैन।
‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि काम गर्ने संस्था मै अन्तरलिङ्गी भेटिएन’
त्यसपछि उनले १६ वर्षको उमेरमा घर छाडिदिए र जागिर खोज्न थाले। त्यसबेला पनि एकजना साथीले ‘फलानो ठाउँमा तिमीहरू जस्तो लागि काम गर्ने संस्था छ’ भनेर सुनाए।
इसानले पनि त्यहाँ जाने सोचे। उनले पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि काम गर्ने संस्थाहरूको बारेमा त्यहि समयमा थाहा पाए।
त्यहाँ पनि तेश्रोलिङ्गी, समलिङ्गीहरू भेटे तर, अन्तरलिङ्गी भने भेटेनन्।
‘उहाँहरूले विभिन्न लैङ्गिक पहिचान भएको व्यक्तिहरूको बारेमा कुरा गरिरहँदा म त्यसमध्ये कुनैमा पनि अटाएको महसुस गरिनँ। इन्टरसेक्स भनेर अलि-अलि कुरा हुन्थ्यो। त्यसबेला चाहिँ म यो भित्र चाहिँ परे कि भन्ने लाग्यो’, उनले सम्झिए।
त्यहाँ जाँदा उनी इन्टरनेट चलाउन साइबर साइबर जान्थे। साइबरमा गएर ‘इन्टरसेक्स’ भनी सर्च गरेर हेर्थे। तर उनलाई ‘सेक्स’ भन्ने शब्द देखेपछि नराम्रो सोच्ने हो कि भन्ने लाग्थ्यो।
तर, आँट गर्थे र एक घण्टा आफ्नो पहिचान ठम्याउन लागि पर्थे। नेपालको बारेमा केहि अभियानकर्ता र समलिङ्गीसँगै तेश्रोलिङ्गी बाहेक उनले अरु भेटाएनन्। अनि भारतमा भएका समुदायबारे सर्च गरे। तर त्यहाँ पनि भेटेनन्।
खोज्दा खोज्दै ‘इन्टरसेक्स सोसाइटी अफ नर्थ अमेरिका’ भन्ने भेटे वेवसाइट भेटे।
‘त्यहाँ चाहिँ अलि बढी डिटेलमा कुरा भएको हो कि जस्तो लाग्यो। त्यहाँबाट धेरै कुरा थाहा पाएँ’, उनले भने।
त्यसपछि भने उनले आफूलाई अन्तरलिङ्गी भनेर चिनाउन थाले अनि विस्तारै त्यहि संस्थासँग आवद्ध भएर स्वयंसेवकको रूपमा काम गरे। अन्तरलिङ्गीको मुद्दा आफैँलाई थाहा नभए पनि आफ्नो अनुभव सुनाउनुपर्छ भनेर उनि यसमै लागे।
सन् २०१६ मा नेपालमै पहिलोपटक अन्तरलिङ्गीको भेला
इसानले तीन/चार जना साथीहरू भेटे। यसबारे धेरै जानकारी थाहा हुँदै गएपछि उनी काठमाडौं आए। यहाँकै संस्थाहरू सँग जोडिएर काम गर्न थाले। काम गर्दा-गर्दै सन् २०१५ मा एसियामा नै पहिलो अन्तरलिङ्गी भेला हुन लागेको उनले थाहा पाए।
यससँग सम्बन्धित अन्तराष्ट्रिय संस्थाहरूको आयोजनामा ताइवानमा भेला भएको थाहा पाएसँगै उनी पनि त्यहाँ सामेल हुन गए। अन्तराष्ट्रिय रूपमै उनले अन्तरलिङ्गी मुद्दा र आन्दोलनको बारेमा जानकारी लिए।
त्यहाँबाट फर्किएपछि भने उनले सन् २०१६ मा नेपालमै पहिलोपटक अन्तरलिङ्गीको भेला पनि आयोजना गरे। त्यसमा जम्मा १३ जना अन्तरलिङ्गीहरू सामेल भएका थिए।
पछि नेपालमा पनि यससँग सम्बन्धित मुद्दाहरूको बारेका बहस हुन थाल्यो। बालअधिकार महासन्धिमा अन्तरलिङ्गी भएका बालबालिकाहरूको रिपोर्ट पनि पठाए। त्यसमा उनीहरूको तथ्याङ्क, जन्मदर्ता, नागरिकता लगायतका कुराहरू पर्थ्यो।
‘अन्तरलिङ्गी व्यक्तिको मुख्य समस्या स्वास्थ्य पनि हो। बच्चा जन्मिने बित्तिकै उसको लैङ्गिक चिन्ह स्पष्ट भएन भने विभिन्न किसिमको मेडिकल प्राक्टिसहरू हुने गरेको छ। त्यसमा धेरै जटिलताहरू आउने गर्छ। त्यस्तो बेलामा त्यो बच्चाले चाहेमा आफ्नो शरीरको निर्णय लिनसक्ने भएपछि मात्र गरिनुपर्छ भन्ने कुराहरू हामीले राखेका थियौं। मेडिकल क्षेत्रमा काम गर्नेहरूलाई तालिम देऊ भन्ने कुराहरू पनि समावेश गरेका थियौं, ’ उनले भने।
त्यो रिपोर्टले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पायो। तर, नेपालमा भने जति चर्चा हुनुपर्ने थियो त्यति नभएकोमा उनको चित्त दुखाइ छ।
उनी भन्छन्, ‘नेपालमा चाहिँ अझै पनि यस समुदायभित्रको विविधताबारे त्यति बहस हुन सकेको छैन। यति धेरै स्रोत र साधन भए पनि सबैलाई बुझाउन हामीलाई पनि गाह्रो भइरहेको छ। सबैलाई एउटै डालोमा हालेर बुझिन्छ।’
सन् २०१७ मा भने अन्तरलिङ्गीहरूको हकहितका लागि काम गर्ने भनेर ‘क्याम्पेन फर चेन्ज’ संस्था नै दर्ता भयो। इसान अहिले पनि यस संस्थाको सह-संस्थापक तथा कार्यकारी निर्देशक छन्। बालअधिकारभित्र समस्त बालबालिका पर्ने भए पनि अन्तरलिङ्गी बालबालिकाको लागि भने सम्बन्धित संस्थाबाहेक अरु कुनै पनि संस्थाले बोल्न नचाहेको उनको अनुभव छ।
‘बाल अधिकार अभियान धेरै अघिदेखि आए पनि अरूले अन्तरलिङ्गीको बारेमा बोल्न चाहेको नै देखिँदैन। एक त संस्था चल्नु आफैँमा चुनौति भयो। त्यसमाथि एक्लैले आवाज उठाउँदा गाह्रो हुने रहेछ’,ֽ उनले भने।
अहिले उनको संस्थामा विस्तारै अन्तरलिङ्गी व्यक्तिहरू जोडिँदै गए पनि धेरै अझै पनि समाजबाट बहिस्कृत हुने डरले बाहिर नआएको उनले बताए।
‘सामाजिक प्रतिष्ठा, इज्जतको कुरा आउने नै भयो। धेरै अझै पनि खुल्न, अगाडि आउन डराइरहनुभएको देखिन्छ। परिवारले जबरजस्ती लुकाउन खोज्नुहुन्छ। अनि लुकाउनै नसक्ने भएपछि चाहिँ हामीसँग जोडिनु भएकोहरू पनि हुनुहुन्छ,’ उनी भन्छन्, ‘नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै अन्तरलिङ्गी आन्दोलन चाहिँ एकदम कान्छो हो। त्यहि भएर पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्रै पनि अन्तरलिङ्गीको मुद्दा छायाँमा पर्दै आएको छ।’
अन्तरलिङ्गीलाई सजिलो भाषामा कसरी बुझ्ने?
इसानका अनुसार अन्तरलिङ्गी व्यक्तिहरू विभिद यौन विशेषतामा जन्मिएका हुन्छन्। यौनाङ्गको ढाँचा, क्रोमोजोमको ढाँचा, अन्तरिक र बाह्य प्रजनन ग्रन्थीका ढाँचासहित। जसलाई समाजले महिला र पुरुष भनेर परिभाषित गरिएको मध्येमा पर्दैनन्।
जस्तै- लिङ्ग लिएर जन्मिएको बच्चालाई बालक र यौनी लिएर जन्मिएको बच्चालाई बालिका भनेर चिनिन्छ। तर, त्यसभन्दा बाहेकको ढाँचाको यौनाङ्ग लिएर पनि बच्चा जन्मिन्छन्। त्यसलाई नै अन्तरलिङ्गी विविधता भएको बच्चा भनिन्छ।
कतिपय अन्तरलिङ्गीको यौन विशेषता सानोमै पनि देखिन्छ। केहिको भने एकै चोटी किशोरावस्थामा मात्रै देखिन्छ। अनि केहि भने कहिल्यै नदेखिने पनि हुनसक्छ।
ती बच्चाहरू कोशोरावस्थामा पुग्दै गर्दा उनीहरूको आन्तरिक र बाह्य शारीरिक परिवर्तनहरूसँगै केहि प्रजनन ग्रन्थीहरूको पनि विकास हुने गर्छ। हामीले छोरा/छोरी भनेर जसरी हुर्काइएको छ उनीहरूको शारीरिक विकास त्यो भन्दा फरक हुनसक्छ।
जस्तै- किशोरीको हकमा महिनावारी हुने, स्तनहरू बढ्दै जाने। अनि किशोरको हकमा स्वर धोत्रो हुने, जुँगादारी आउने।
तर, समाजले छोरी भनेर हुर्काइएको बालिकाको शारीरिक विकास भने क्रोमोजोमका कारण स्वत: छोराको जस्तो हुन पनि सक्छ। महिनावारी नहुने, दारी-जुँगा आउने, मसल्सहरू कडा हुने, हुर्कँदै गर्दा पाठेघर नै नहुने र शरीरको भित्री भागमा अण्डकोषको विकाससमेत हुने जस्ता शारीरिक परिवर्तन पनि देखिनसक्छ।
त्यस्तै छोरा भनेर हुर्काइएको बालकको पनि शारीरिक विकास छोरीको जस्तो भइदिन सक्छ। उसको दारी-जुँगा नआउने, आवाज पातलो हुँदै जाने, स्तनको विकास हुने, मसल्सहरू कोमल हुने र पछि पाठेघर देखिने पनि हुनसक्छ।
सन् २०१५ मा संयुक्त राष्ट्रसंघद्वारा जारी तथ्याङ्क अनुसार अन्तरलिङ्गी विविधता भएकाहरूको संख्या विश्वकै जम्मा जनसंख्याको करिब शून्य दशमलब पाँच प्रतिशत देखि एक दशमलब सात प्रतिशतसम्म रहेको छ। तर, नेपालको हकमा भने यसको यकिन तथ्याङ्क राखेको देखिँदैन।
एक्सवाई क्रोमोजोम भएकोलाई ‘पुरुष’ र एक्सएक्स क्रोमोजोम भएकोलाई ‘महिला’ भनेर परिभाषित गरिएको पनि छ। तर, त्यो भन्दा बाहेकका क्रोमोजोम विविधता भएकाहरू पनि जन्मिन्छन्। त्यस्तो विविधता भएका पनि अन्तरलिङ्गीहरूनै हुन्।
जस्तै- एक्स, एक्सएक्सवाई, एक्सएक्सएक्सवाई लगायत अहिलेसम्म पहिचान भएकोमा अन्तरलिङ्गीको ४७ वटा यौन विशेषता छ ।
सानोमै यौन विशेषता देखिएको बच्चाको हकमा भने धेरैले त्यहि समयमा नै आफूलाई कुन लैङ्गिक चिन्ह भएको बच्चा चाहेको हो, त्यस्तोमै ढाल्ने प्रयास पनि हुने गरेको इसानको भनाइ छ।
‘जबरजस्ती महिला वा पुरुषमै फिट गराउने प्रयास भइरहेको हुन्छ। त्यो कत्तिको आवश्यक छ? सुरक्षित छ? भन्ने कुरा हेक्का नै राखेको हुँदैनन्’, उनले भने।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकको बारेमा कुरा गर्दा सर्जरीको कुराहरू पनि आउने गर्छ। तर, सर्जरी हुने भनेको आफूले पहिचान गरे अनुसार लैङ्गिक पहिचान राख्नु हो। उनीहरूले आफ्नो आवश्यकता अनुसार सर्जरी गर्छन्।
त्यस्तो सर्जरी प्राय तेश्रोलिङ्गी महिला वा तेश्रो लिङ्गी पुरुषले गर्ने गर्छन्। अन्तरलिङ्गीको हकमा भने यौन विशेषता भएको हुँदा सर्जरी नगरे पनि आफैँ हुने शारीरिक विकास हो। उनीहरूको पनि सर्जरी हुने गर्छ, तर धेरै जसोमा जबर्जस्ती सानोमा गराइदिएको हुने समेत उनले बताए।
मध्यमधारका सामग्री
साउन १९, २०८० शुक्रबार १८:०६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।