‘बीवाइडी’ विश्वका ठूला कम्पनीको सूचीमा २१२औं स्थानमा

‘बीवाइडी’ विश्वका ठूला कम्पनीको सूचीमा २१२औं स्थानमा

काठमाडौं : चिनियाँ अटो निर्माता कम्पनी बीवाईडी फर्चूनले सार्वजनिक गरेको विश्वका ठूला कम्पनीको सूचीमा २१२ औं स्थानमा परेको छ। 

हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सूची सार्वजनिक गर्दै आएको फर्चूनले सन् २०२३ को सूची सार्वजनिक गरेको हो।

सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोवील सामेल छन्। अघिल्लो वर्ष बीवाइडी सूचीको २२४ औं स्थानमा रहेको थियो।

इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अर्ब डलर पुगेको फर्चूनले उल्लेख गरेको छ। उक्त आम्दानीबाट कम्पनीले २.४७ अर्ब डलर मुनाफा आर्जन गरेको छ।

बीवाइडीको मार्केट भ्यालू १०४.३२ अर्ब डलर रहेको उल्लेख गरिएको छ। कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन्।

बीवाइडी चीनको सबैभन्दा ठूलो मध्ये एक अटोमोवाइल कम्पनी समेत हो। सो कम्पनीले बीवाइडी, हान र ट्याङ लगायत ब्रान्डमा सवारीसाधन उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ।

बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ। सो ब्रान्डको नेपालका लागी आधिकारिक वितरकका रुपमा साइमेक्स इंक प्रालि रहेको छ। 

साउन १९, २०८० शुक्रबार १७:५७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।