हिमालय एयरलाइन्सले गर्यो लवप्रसाद बाल गृहलाई ३ लाख ९६ हजार सहयोग
काठमाडौं : हिमालय एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।
अनाथ तथा विपन्न बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लव प्रसाद बाल गृहको भान्सा र भोजनकक्ष मर्मत सम्भारका लागि उक्त सहयोग गरिएको हो।
बिहीबार बाल गृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एयरलाइन्सका अध्यक्ष झो इन्योङ्गले बालगृहका अध्यक्ष उषा कार्कीलाई रु ३ लाख ९६ हजार बराबरको चेक हस्तान्तरण गरे।
यस बाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप जस्ता विभिन्न खेल सामाग्रीहरू पनि सहयोग गरिएको छ।
सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ।
‘एयरलाइन्सले स्थापनाकालदेखि नै समाजको लागि सक्दो योगदान गर्दै आएको छ। यसपटक लव प्रसाद बालगृहलाई गरिएको सहयोगले यहाँको बालबालिकाका लागि राम्रो जीवन र बसाइको व्यवस्था गर्न चाहन्छौं र उनीहरू भविष्यमा राष्ट्रको कर्णधार बनोस् भन्ने आशा राख्दछौं,’ एयरलाइन्सका अध्यक्ष इन्योङ्गले भने।
हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा सन् २०१४ मा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो।
साउन १९, २०८० शुक्रबार १७:१८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।