अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौं : अर्थमन्त्री महत

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौं : अर्थमन्त्री महत

पर्सा : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन्। 

नेपाल प्रेस युनियन पर्साले शुक्रबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको बताए।

विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको भन्दै उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गरे। उनले उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा सरकार लागेको समेत बताए।

उनले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटी, उदासीनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता तथा राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिए।

सो अवसरमा उनले दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखाना लगायतका रूग्ण उद्योग पुनः सञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताए।

अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि रु एक करोड बजेट उपलब्ध गराइसकेको पनि जानकारी दिए।

साउन १९, २०८० शुक्रबार १६:३०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।