आँखा पाक्ने रोगले चितवनमा विद्यालय बन्द
चितवन : विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि चितवनको खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ। पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो।
नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिए। सामुदायिक विद्यालयमा परीक्षा सकिएर वर्षे बिदा भएकाले संस्थागत विद्यालय र क्याम्पसहरु बन्द गरिएको उनले बताए।
यस पालिकामा सामुदायिक विद्यालय २७, संस्थागत विद्यालय २२ र कलेज चार रहेका छन्। जहाँ १७ हजार पाँच सय विद्यार्थी अध्ययन गर्दै आएका छन्।
मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्ग्टिवाइटिस’का कारण बालबालिकामा आँखा पाक्ने समस्या देखिएको नगर स्वास्थ्य अधिकारी निर्मल घिमिरेले जानकारी दिए। उनका अनुसार यो सङ्क्रमण पाँचदेखि सात दिनमा निको हुन्छ।
साउन १९, २०८० शुक्रबार १५:५६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।