अध्यक्ष राउतलाई प्रधानमन्त्री बनाउने उद्देश्यले जनमतले 'मिसन ८४' चलाउने

अध्यक्ष राउतलाई प्रधानमन्त्री बनाउने उद्देश्यले जनमतले 'मिसन ८४' चलाउने

काठमाडौँ : जनमत पार्टीले २०८४ को निर्वाचनमा अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी ‘मिसन ८४’ अभियान चलाउने भएको छ।

बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष अब्दुल खानले जानकारी दिए। त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने पनि निर्णय गरेको छ। 

खानले भने, ‘२०८४ को निर्वाचनलाई कसरी सफल बनाउने र विजयी हासिल गर्ने भनेर एजेन्डामा सहमति भएको छ। जसका लागि ‘मिसन ८४’ भनेर ग्रासरुटसम्म पुग्ने संगठन सुदृढीकरण र विस्तार गर्ने निर्णय भएको छ।’

बैठकले पार्टीको केन्द्रीय कार्यालयदेखि सबै जिल्लाको पार्टी कार्यालय व्यवस्थित गरेर वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ।

पार्टीको संयुक्त बैठकले राजनीतिक रूपमा संघीयताको सबलीकरण र पूर्णरूपमा अधिकार सम्पन्न बनाउन एजेन्डा नै पारित गरेको छ। बैठकले पार्टी संगठनलाई ५ गुणा ठूलो बनाउने लक्ष्य पनि राखेको छ। 

बैठकले अहिलेको समसामयिक राजनीतिक विषयमा पनि छलफल र विभिन्न निर्णयहरू गरेको छ। 

बैठकमा २४ जिल्लाका केन्द्रीय सदस्यहरू सहभागी थिए । प्रत्येक जिल्लाका केन्द्रीय सदस्यले आफूमध्येबाट एक जना नेता चयन गर्न बैठकमा बोल्न लगाएका थिए। मिसन ८४ लाई कसरी अगाडि बढाउने नेताहरूले सुझाव दिएका थिए । 

साउन १९, २०८० शुक्रबार ०७:०२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।