एआईसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्न किंङ्स कलेज र नामीबिच समझदारी
काठमाडौँ : काठमाडौँस्थित किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एन्ड इन्फरमेटिक्स् इन्स्टिच्युट फर रिसर्च (नामी) ले नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी औपचारिक शैक्षिक पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन्।
किंङ्स कलेज र वैज्ञानिक अनुसन्धान केन्द्र, नामीले बिहीबार साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै ६ महिने परिक्षणात्मक तालिम कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्। यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी स्नातक तथा स्नातकोत्तर तहको शिक्षण कार्यक्रम सञ्चालन गर्ने समझदारी कार्यक्रममा जानकारी गराइयो।
सुरुवाती चरणमा सूचना प्रविधि तथा इन्जिनियरिङ विधामा काम गरिरहेकाहरूलाई लक्षित गरेता पनि पछि विद्यार्थी तथा आर्टिफिसियल इन्टिलीजेन्स् क्षेत्रमा रुचि राख्ने जोकसैले पनि यस शिक्षण कार्यक्रममा सहभागी हुन पाउने कलेजले जानकारी दिएको छ। यस कार्यक्रममासहभागी हुन चाहनेहरूले पाइथन प्रोग्रामिङ्ग चलाउन जानेको हुनुपर्ने कलेजले जानकारी दिएको छ।
'शिक्षाले मानिसलाई वर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितिको सामना गर्न सक्षम गराउनुका साथसाथै समय सान्दर्भिक सिप तथा सामर्थ्यको विकासमा सघाउनुपर्दछ भन्ने हाम्रो सोच हो' कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले भने 'पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिको रूपमा विकास भइरहेको आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उद्देश्यको साथ नामीसँग साझेदारी गरिएको हो।'
कलेजले शिक्षालाई परम्परागत चार कोठे सिकाइ प्रणालीको रूपमा मात्र सीमित नराखी आधुनिक समाजमा देखापरिरहेको चुनौतीको सम्बोधन गर्न, नयाँ अवसरहरूबाट लाभ लिन र आधुनिक चालचलन तथा प्रबृत्तीहरुलाई अङ्गीकार गरी समाज तथा राष्ट्रको विकासमा टेवा पुर्याउन सक्षम नागरिकको सृजना गर्न विभिन्न पहल तथा परियोजनाहरू सञ्चालन गरिरहेको अर्यालले जानकारी दिए।
साउन १८, २०८० बिहीबार २०:१३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।