‘ए केटा मादलु पड्का’मा हरिवंश र प्रियंका (भिडियो)
काठमाडौं : हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘ए केटा मादलु पड्का’ सार्वजनिक भएको छ।
आचार्यलाई स्वरमा शान्तिश्री परियारले साथ दिँदा मोडलिङमा नायिका प्रियंका कार्कीको साथ पाएका छन्।
चार महिनाअघि शान्ति श्रीसँगकै सहकार्यमा आचार्यले लोक लयको ‘काउली’बोलको गीत ल्याएका थिए।
आचार्यले तत्काल गीत ल्याउने सोच नबनाए पनि चितवनको एउटा जमघटमा नयाँ लय फुरेपछि गीत बनाएको बताए।
‘अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन, दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरू गीत गाउँदै उफ्री–उफ्री नाचिरहेको देखेँ,’ हरिवंशले भने, ‘त्यहीबेला अचानक मेरो दिमागमा एउटा लय फु¥यो। हत्तपत्त कोठामा गएँ र मोबाइलमा रेकर्ड गरेँ। लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का।’
गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरूको भाव बोकेको हरिवंशको भनाइ छ। गीतको भिडियोमा निर्वाचनमा हुने पैसा बाँड्ने विकृतिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ।
‘यो सन्देशमुलक गीत होइन,’ उनी भन्छन्, ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो। यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ। गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ।’
भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयंले अभिनय गरेका छन्। गम्भीर विष्टले नृत्य निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन छ।
साउन १८, २०८० बिहीबार १८:२७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।