प्रमोदको हिजोका कुरा : बुवा र वीपी मध्यराति घर आउनुहुन्थ्यो, पुलिसको डरले बिहानै बोर्डर क्रस गरिसक्नुहुन्थ्यो
काठमाडौं : १०१४ सालमा महोत्तरीमा जन्मिएका प्रमोद घिमिरेको जीवनमा थुप्रै उतारचढाव आए।
महोत्तरीमै हुर्किएका प्रमोदको परिवार २४ सालमा जनकपुरधाम धनुषामा बसाइ सर्यो। जनकपुर बसाइ सरेपछि त्यहीँको स्कुलमा भर्ना भए। पाँच दाजुभाइ र २ दिदीबैनी रहेका प्रमोद माइला हुन्।
उनी जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा पढ्दाको समयमा नेपालमा पञ्चायतविरोधी आन्दोलन चर्किएको थियो। कलेजले शुल्क बढाइको भन्दै उनी संघर्ष समितिको सदस्यमा आबद्ध भए।
लहैलहैमा लागेर सरकारको विरोध गरेपछि तत्कालीन प्रहरीबाट लखेटिएर उनी भारत पुगे। भारतमा रहेर नेपाली जनताका लागि काम गरिरहेका तत्कालीन कांग्रेसका कमाण्डर बीपी कोइरालासँग उनले भेट्ने मौका पाए।
बाल्यकाल
त्यतिबेला स्कुल शिक्षकलाई घरमा फलेका धान चामल,घ्यु दिने गरिन्थ्यो। उनका अनुसार पढाइ खर्च खासै महँगो थिएन। थोरै पैसामा नै स्कुल पढ्न पाइन्थ्यो। धनाढ्य परिवारमा जन्मिएका प्रमोदको घर ठूलै थियो भने केही शिक्षकहरूले डेरासमेत गरेर बसेका थिए।
प्रमोद २८ सालको घटना सम्झिन्छन्, ‘शिक्षकहरू त्यो बेला साह्रै रमाइला थिए। गाली नगरिकनै पढाउँथे। म पढ्न निकै तेजिलो भएकोले होला सरहरूले पनि मलाई माया गर्नुहुन्थ्यो। स्कुलमा राम्रै पढाइ भएको हुनाले मैले २८ सालमा एसएलसी दिएँ र राम्रै नम्बरमा पास गरेँ।’
तर एसएलसी दिँदाको एउटा क्षण भने उनलाई निकै नमिठो लाग्यो। ‘तत्कालीन राजा श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको मृत्यु भएको दिन हाम्रो फस्ट पेपरको परीक्षा अंग्रेजी रहेको थियो,’ प्रमोद भन्छन्,‘ राजाको मृत्यु भएको खबर आएपछि हाम्रो एसएलसी रोकिएको थियो।’
उनका अनुसार त्यो समयमा प्लेन र आकाशवाणीबाट कहाँ के भएको छ भन्ने खबर आदान प्रदान हुन्थ्यो।
महन्थ ठाकुरका विद्यार्थी
प्रमोदले एसएलसी पास गरेपछि घर नजिकैको स्कुल जनकपुरकै रारा एम (रामस्वरुप रामसागर) बहुमुखी क्याम्पसमा भर्ना भए। त्यो क्याम्पसमा महन्थ ठाकुरले पढाउँथे।
‘मैले पढेको स्कुलमा हामीलाई महन्थ ठाकुरले कल्चर पढाउनुहुन्थ्यो। उहाँले पढाउँदा एकदमै राम्रो लाग्थ्यो। उहाँले पढाएपछि फेरि दोहोर्याएर पढ्नै पर्दैन थियो। किनभने त्यति मजाले बुझाउनुहुन्थ्यो,’उनले भने।
पछि ठाकुर नेपाली कांग्रेससँग आबद्ध हुँदै राजनीतिमा जोडिए।
राति राति बीपीसँग बुबाको मिटिङ
‘मेरो बुबा मथुराप्रसाद घिमिरे उपाध्याय मैले थाहा पाउँदा नेपाली कांग्रेसका सशक्त सेनानीका रूपमा रहनुभएको थियो। बुबा र सान्दाजु (बीपी कोइराला) घरमा राति १२ ,१ बजे आउनुहुन्थ्यो,’ उनले भने,‘के-के कुराको छलफल गर्नुहुन्थ्यो खै कुन्नि, हामी बिहान उठ्दाखेरि सबै गइसकेका हुन्थे।’
प्रमोद भन्छन्,‘मेरो बुबा राजनीति भनेपछि हुरुक्कै हुनुहुन्थ्यो। राजनीतिमा लागेपछि बुबाले घरको काम गरेको मैले फिटिक्कै देखिनँ। कहिलेकाहीँ पुलिसको आँखा छलेर राति घरमा आउनुहुन्थ्यो बिहानै उठेर जानुहुन्थ्यो। घरमा धेरैजसो बुबालाई खोज्न प्रहरी आइरहने भएकाले होला बिहानै बोर्डर क्रस गरिहाल्नुहुन्थ्यो।’
'अञ्जानमा भाषण गर्दा भारत लखेटिएँ'
‘आई ए पढ्दा क्याम्पसले ४० रुपैयाँ शुल्क बढाएको भन्दै हामी विरोधमा उत्रिएका थियौँ। मलाई क्याम्पसमा हुने आन्दोलनको संघर्ष समितिको सदस्य बनाइएको थियो,’ उनले सम्झँदै भने, ‘धनीका खुन खुन हे,गरिबका खुन पानी’ भनेर मैले भाषण दिँदा विद्यार्थी साथीहरू आक्रोशित भइहाले। क्याम्पसमा उथलपुथल भयो। मेरो भाषण सुनेपछि विद्यार्थी संघर्ष समितिमा राखिदिए।’
विद्यार्थी संघंर्ष समितिका दोस्रो दर्जामा उनी थिए भने पहिलोमा कांग्रेस नेता विमनेन्द्र निधि लगायतको समूह थियो।निधिहरू कहलिएका विद्यार्थी नेताहरूमा गनिन्थे त्यसबेला।
‘उनीहरू परिचित नेता भएकाले प्रहरीले समातेछ। मलाई भने सूचना के आयो भने त्यहाँ प्रहरीले धरपकट गरिसकेको छ तपाईलाई प्रहरीले खोज्दैछ,’ उनले भने,‘अनि कलेजको कोठाबाट हेरेको त प्रहरी छ्यापछ्याप्ती आइहाले। त्यसपछि ड्रेस परिवर्तन गरेर गान्धी लुगा लगाएर ओरालै ओलारे छड्के हान्दै बोधी दादा भन्नेको घरमा पुगेँ। मलाई प्रहरीले खोजी गरिरहेको हुनाले त्यहाँबाट पनि राति नै इण्डिया छिरेँ।’
भारतमा उनी बनारस पुगे। उनले बनारस पुगेपछि आफूले चिनेका केही परिवर्तनकारी कांग्रेसका साथीहरू भेटे। तिनै साथीहरूको अनुरोधमा बीपी बसेको घर पुगेको उनी बताउँछन्।
बीपी बसेको घरमा पुग्दा
उनी भन्छन्,‘मलाई संघर्ष समितिमा राखेको हुनाले विद्यार्थीबाट उठाएको २३ सय रुपैयाँ मसँग थियो। त्यही पैसाले ट्रेन चढ्दै म बनारस पुगेँ। त्यहाँ पुगेपछि कतिपय चिनजानकै साथीहरू भेटेँ।’
नेताहरूले लगाउने लुगा नै आफूले लगाएको हुँदा अधिकांशले नेपालबाट भागेर आएको हो भनेर चिन्ने गरेका उनी बताउँछन्।
‘बनारस पुगेपछि केही साथीसँग भेटमा सान्दाजु (बीपी)सँग भेटौ न त भन्ने कुराकानी भयो। उहाँहरूले भेटौँ भनेपछि निकै उत्साहित भएँ। किनभने मैले घरमा आउँदा पनि त्यति बोल्ने मौका पाएको थिइनँ,’ उनले केहीबेर सोचेर भने,‘उहाँ बसेको घरमा पुग्दा कोही पनि घरमा थिएनन्। उहाँहरू मर्निङ वाकमा जानुभएको रहेछ।’
नेपालबाट सीआईडी आएको हो कि भनेर बीपीका सहयोगीहरूले निकै घुरेर हेरेको अनुभव प्रमोदसँग छ।
‘बीपीलाई भेट्न जानुअघि उनका सहयोगी आएका थिए। ठूलो पाखुरा भएको र अनुहारमा छड्के काटिएको मान्छे। हेर्दै डरलाग्दो,’ जोसिलो तरिकाले प्रमोदले भने, ‘तर मलाई भने डर लागेको थिएन। किनभने म पनि बडीबिल्डर नै थिएँ।’
यो भिडे छ भने म पनि भिड्छु र पछार्छु भन्ने सोच बनाएको प्रमोद बताउँछन्। 'उनी त निकै नम्र तरिकाले बोले। मैले सोचेको भन्दा पनि फरक रहेछन्,’ प्रमोदले हास्दै सुनाएँ।
मर्निङ वाकमा गएका बीपी, कृष्णप्रसाद भट्टराई,गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला फरक फरक बाटो हुँदै आइपुगे। घरमा आइपुगेपछि गणेशमानले चिया पकाए।
‘गणेशमानले चिया पकाएपछि बीपीतर्फ हेर्दै यो बाहुनले त गुलियो नै बढी खान्छ,’ प्रमोद त्यो पल सम्झिन्छन्, ‘बिहानको चिया र खाना त्यहीँ भएपछि उहाँहरूले भारतीय सरकारबाट नेपाल फर्कन दबाब दिएको कुरा गर्नुभएको थियो।’
उनी बीपी बसेको घरमा पुग्दा उनका नजरहरू बीपीको लाइब्रेरीमा परेका थिए। बाटोको छेवैमा बसेका बीपीले पढिरहेका विभिन्न शास्त्रीय किताबहरूले एउटा कोठा भरिएका थिए भने अधिकांश धुलाम्मे रहेका प्रमोद बताउँछन्।
केही महिनापछि आफूलाई गर्ने भनिएको कारबाही फुकुवा भएको समाचार आएपछि नेपाल आएको र आफ्नै बिँडी कारखानामा काम गर्न थालेको प्रमोद बताउँछन्।
जनकपुरमा आफ्नै बिँडी कारखाना खोलेर बसेको केही समयपछि ४० सालतिर काठमाडौं आएको र अहिले यतै बसोबास गर्दै आएको प्रमोद बताउँछन्।
साउन १८, २०८० बिहीबार १८:२७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।