पार्टीमा ६८ वर्षको उमेरहद कायम गर्न माओवादी केन्द्रीय सदस्यको माग

पार्टीमा ६८ वर्षको उमेरहद कायम गर्न माओवादी केन्द्रीय सदस्यको माग

काठमाडौं : सत्तारुढ माओवादी केन्द्र रुकुमका अध्यक्ष सचिन रोकाले पार्टीमा उमेर हद कायम गर्नुपर्ने सुझाव दिएका छन्।

पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमनन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा उनले उमेर हद कायम गर्नुपर्ने माग गरेका हुन्।

रोकाले सरकारले तोकेको ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्ष, ७० वर्ष वा ७५ वर्षमध्ये एउटा उमेरको हद कायम गर्नुपर्नेमा जोड दिए। यस्तो भएमा मात्र युवाहरूले पार्टीमा भविष्य देख्ने उनको भनाइ छ।

‘पार्टीमा उमेर हद लागू गरिनुपर्छ। सरकारले तोकेको ६८ वर्ष (जेष्ठ नागरिक भत्ता पाउने उमेर)लाई मापदण्ड बनाउन सकिन्छ। अथवा यो कम भयो भन्ने हो भने ७० वा ७५ गर्न पनि गर्न सकिएला। तर उमेर हदको व्यवस्था हुनैपर्छ नत्र युवाहरूले पार्टीमा भविश्य देख्दैनन्। पुस्तान्तरणको नारा नारामै सीमित हुन्छ।’

यस्तै उनले पार्टी तथा जनवर्गीय संगठनका हरेक तहका कमिटी २ अङ्कको बनाउनुपर्नेमा जोड दिए। अहिलेको संगठन भद्दा भएको भन्दै उनले केन्द्रीय समिति ९९, प्रदेश समिति ८५, जिल्ला समन्वय समितिलाई कार्यकारी समितिमा बदलेर ७५ सदस्यीय, महानगर समिति ५५, उपमहानगर समिति ४५, नगर समिति ३५, गाँउ समिति २५, वडा समिति १५, टोल समिति ९ र सेल कमिटी बढीमा ७ सदस्यीय बनाउनुपर्ने सुझाव दिए।

त्यसैगरी, हरेक कमिटीको चयन निर्वाचनबाट गर्नुपर्ने भन्दै उनले त्यसो हुन सकेमा मात्र विभिन्न किसिमका दवाव, प्रभाव, नातावाद, कृपावाद, परिवारवाद, चाकडी, चाप्लुसी प्रथा कमजोर हुने बताए।

हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार दुई कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्नुपर्ने र २०६३ यता पार्टीको तर्फबाट राजकीय जिम्मेवारी वा विभिन्न लाभको पदमा बसेका नेता कार्यकर्ताहरूको सम्पत्ति विवरण सार्वजनिक र आवश्यक परे छानविन गर्नसमेत उनको माग छ।

साथै उनले देशमा गरिबी न्यूनीकरण र रोजगारी सृजनाको लागि सरकारको तर्फबाट ठोस कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिँदै युवाहरूको बाध्यात्मक विदेश पलायन रोक्नुपर्ने बताए।

साउन १८, २०८० बिहीबार १८:१०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।