पार्टी संरचनै उल्ट्याउन माओवादी केन्द्रीय सदस्यहरूको माग

पार्टी संरचनै उल्ट्याउन माओवादी केन्द्रीय सदस्यहरूको माग

काठमाडौं : सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक बिहीबार पनि बस्यो। बैठकमा बिहीबार ३५ जना गरी जम्मा ५७ केन्द्रीय सदस्यले आफ्ना मत राखे।

अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीका पदाधिकारी निर्वाचित प्रणालीबाट आउनुपर्नेमा जोड दिएको केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए।

‘पार्टीको आन्तरिक जीवनलाई सुदृढिकरण गर्ने विषयका कुरा अलि धेरै उठेका छन्,’ उनले भने, ‘मुलतः विधि, पद्धतीमा लैजाने, माथिबाट नोमिनेटेड गर्ने भन्दा पनि तलैबाट इलेक्सन गर्ने व्यवस्था गर्दा राम्रो हुन्छ भन्ने धारणहरू बढी आएको छ।’

केही केन्द्रीय सदस्यले विधान महाधिवेशन जरुरी नभएकाले एकैपटक विशेष महाधिवेशनमा जान सुझाव दिए पनि अधिकांशले विधान सम्मेलन गरेर महाधिवेशनको तयारी गर्न आग्रह गरेको उनले बताए।

सापकोटाका अनुसार बैठकमा मूल नेतृत्वसँगै पटक–पटक मन्त्री, सांसद् र जनप्रतिनिधि भएकाहरूको राम्रोसँग मूल्यांकन र समीक्षा गर्नुपर्ने कुरा उठेको छ। आफूले पनि निर्वाचित हुने प्रणालीलाई विधिमा ढालेर जानुपर्ने विषयमा जोड दिँदै धारणा राखेको उनले बताए।

‘वडैदेखि निर्वाचित हुने प्रणालीलाई अवलम्बन गरियो भने माथितिर फर्कने प्रणाली चाहिँ सुल्टो दिशामा फर्कन्छ,’ उनले थपे, ‘नेताले तोकिदिने भएपछि नेतातिर धाउने खालको पार्टी संरचना भएको छ, यसलाई उल्ट्याएर जनता र कार्यकर्ताप्रति उत्तरदायी हुनुपर्छ भनेर मैले आफ्नो भनाइ राखेँ।’

पार्टीको बैठक भोलि पनि जारी रहनेछ।

साउन १८, २०८० बिहीबार १७:४८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।