दुई पटकको विजेता जर्मनी पहिलो पटक विश्वकपको समूह चरणबाटै बाहिरियो

दुई पटकको विजेता जर्मनी पहिलो पटक विश्वकपको समूह चरणबाटै बाहिरियो

एजेन्सी : दुई पटकको विजेता जर्मनी पहिलो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। एसियाली राष्ट्र दक्षिण कोरियासँग १-१ गोलको बराबरीमा रोकिएपछि युरो कपको फाइनलिष्ट टिम जर्मनीको यात्रा समूह चरणबाटै समाप्त भएको हो।

समूह ‘एच’ को खेलको छैटौं मिनेटमा नै चो सो ह्वानले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएकी थिइन्। यसपछि ४२ औं मिनेटमा अलेक्जेन्ड्रा पोपले बराबरी गोल फर्काइन्।

नकआउट चरणमा पुग्न जर्मनीलाई यो खेल जित्ने पर्ने दबाब थियो। तर दोस्रो हाफमा थप गोल गर्न नसक्दा जर्मनी अप्रत्याशित रुपमा विश्वकपबाट बाहिरियो।

बराबरीपछि ३ खेलमा मात्र ४ अंकसहित समूहको तेस्रो स्थानमा रहँदै जर्मनीको यो विश्वकप यात्रा समाप्त भयो। अघिल्ला २ खेलमा पराजित भएको दक्षिण कोरियाका लागि जर्मनीलाई बराबरीमा रोक्नु नै उपलब्धि भयो।

यस समूहबाट कोलोम्बिया र मोरक्कोले ६/६ अंकका साथ अन्तिम १६ मा स्थान पक्का गरे। यो बराबरीका कारण जर्मनीसँग पहिलो खेलमा ६-० ले हारेको मोरक्को भने अन्तिम १६ मा पुगेको छ।

साउन १८, २०८० बिहीबार १८:०३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।