महराले फेरि भने- सुन तस्करीमा मेरो संलग्नता छैन, राजनीतिक पूर्वाग्रह देखिन्छ

महराले फेरि भने- सुन तस्करीमा मेरो संलग्नता छैन, राजनीतिक पूर्वाग्रह देखिन्छ

काठमाडौं : माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।

माओवादी केन्द्रीय समितिको बैठक भइरहेको समयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका हुन्। साथै उनले राजनीतिक पूर्वाग्रहको साथ आफ्नो नाम मुछिएको समेत बताए।

‘सुन प्रकरणमा मेरो कुनै संलग्नता छैन,’ उनले दाबी गरे, ‘यसमा राजनीतिक पूर्वाग्रह देखिन्छ।’

यसअघि बिहीबार विहान पनि प्रवक्ता महराले सुन प्रकरणमा आफू संलग्न भएको र त्यसमा प्रयोग भएको भनिएको मोबाइल नम्बरसमेत आफूले प्रयोग नगरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

यस्तै उनले केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि ५७ जना केन्द्रीय सदस्यले बोलेको र बाँकी सदस्यहरूले बोल्ने क्रम जारी रहेको जानकारी दिए।

उनका अनुसार बोल्ने सदस्यहरूले अध्यक्षको प्रतिवेदनमा समर्थन गरेको र प्रतिवेदन अनुसारको व्यवहारमा लागू गर्नुपर्यो भन्ने धारणा राखे।

साउन १८, २०८० बिहीबार १७:१६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।