सरकारले स्पष्टसँग भन्यो- सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन

सरकारले स्पष्टसँग भन्यो- सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन

काठमाडौं : सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पारिन्।

सञ्चारकर्मीको जिज्ञासामा उनले भनिनन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन।’

वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख उनले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गरिन्।

‘अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ। सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ,’ उनले थपिन्, ‘सो विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले देखेको छैन।’

उनले विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गरिन्।

‘केही व्यक्ति पक्राउ परिसकेका छन् र अनुसन्धान जारी छ। छानबिनकै क्रममा पछि आवश्यकता परेमा त्यस्ता समिति गठन गर्न पनि सकिन्छ,’ उनले भनिन्, ‘तर अहिले आवश्यक छैन र त्यसरी समिति बनाउँदा अहिले भइरहेको छानबिन प्रभावित हुन पनि सक्छ।’

सोही प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै सङ्घीय संसदमा गरिरहेको अवरोध हटाउने विषयमा समेत कुराकानी भइरहेको भन्दै उनले छिट्टै सदनको अवरोध हट्ने विश्वास व्यक्त गरिन्।

विभागले यही साउन ३ गते विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा झण्डै एक सय किलो सुन बरामद गरेको थियो। विभागले सो प्रकरणमा संलग्न भएको आशङ्कामा १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

साउन १८, २०८० बिहीबार १५:५०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।