एमालेले राष्ट्रियसभाको बैठक पनि चल्न दिएन, सुन प्रकरणमा छानबिन समिति बनाउन माग

एमालेले राष्ट्रियसभाको बैठक पनि चल्न दिएन, सुन प्रकरणमा छानबिन समिति बनाउन माग

काठमाठौं :  प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठकमा अवरोध गरेको छ। क्विन्टल सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको हो।

बैठक सुरु भएपछि एमाले सांसदहरुले उठेर सुन तस्करी प्रकरणमा छानबिन समिति नबनाएसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन्। यो अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गते सोमबार १ बजे बस्ने गरी स्थगित भएको छ।

एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सरकारलाई यो प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गरेको भए पनि अहिलेसम्म मागको सुनुवाइ नभएको  बताए।

‘प्रधानमन्त्री र गृहमन्त्रीले बाहिर बोल्दा कसैलाई पनि छोडिंदैन भन्ने, तर व्यवहार अर्कै हुने कुराले यसमा आशंका बढाएको छ,’ उनले भने।

सुन काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको एमालेले संसद अवरुद्ध गर्दै आएका छन्। यसअघि पनि एमालेले २ पटक प्रतिनिधिसभा बैठक सुरु नै हुन दिएको थिएन। 

एमालेले यसअघि साउन ११ गते मिटर ब्याजसम्बन्धी विधेयक पारित गर्न राष्ट्रिय सभा बैठक चल्न दिएको थियो। 

साउन १८, २०८० बिहीबार १३:४९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।