सर्वसाधारणलाई डरत्रास देखाउँदै पैसा माग्ने ५ जना जोरपाटीबाट पक्राउ

सर्वसाधारणलाई डरत्रास देखाउँदै पैसा माग्ने ५ जना जोरपाटीबाट पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ। 

काठमाडौंको बौद्ध, जोरपाटी लगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै समूहमा गई सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रुपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङगा–६, रामेछाप घर भई हाल काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा (बाफ्ले), मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई काठमाडौं, कागेश्वरी मनहरा, मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी–१, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रवीण तामाङ रहेका छन्। 

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध लगिएको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

साउन १८, २०८० बिहीबार १२:४८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।