बुटवलका सुकुमबासी बस्तीमा एक हजारमा पाइन्छ लालपूर्जा !

बुटवलका सुकुमबासी बस्तीमा एक हजारमा पाइन्छ लालपूर्जा !

बुटवल : बुटवलमा टोल विकास संस्थाले सर्वसाधारणबाट रकम उठाउँदै लालपूर्जा दिने गरेको पाइएको छ। बुटवल–११ मा रहेको न्यू दर्गानगर टोल विकास संस्थाले सर्वसाधारणबाट एक हजार रुपैयाँ लिएर नक्कली लालपूर्जा दिने गरेको भेटियो। 

भूमिहीनहरूको बसोबास रहेको बुटवल-११ को सुकुम्बासी बस्तीको टोल विकास संस्थाले सक्कल लालपूर्जा दिने ग्यारेन्टी गर्दै नक्कली लालपूर्जा वितरण गरेको हो। 

टोल विकास संस्थाले सक्कली जस्तै देखिने जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) सर्वसाधारणलाई वितरण गरेको छ। जबकी लालपूर्जा वितरण गर्ने काम टोल विकास संस्थाले गर्न पाउँदैन, त्यो पनि नक्कली।

टोल विकास संस्थाले खाली जग्गाको १ हजार ५ सय सम्म लिने गरेको पनि भेटिएको छ। न्यू दुर्गानगर टोल विकास संस्थाका साधारण सदस्य नमकला नेपालीले सबैले रकम उठाउन भनेपछि संस्थालाई १ हजार दिएको र लालपूर्जा लिएको बताइन्।

‘टोकन लिएर आएपछि रातो प्रमाणपत्र पाइन्छ भनेपछि आएका हौं। टोलले नै गरेको काम भएकाले विश्वास गरियो,’ उनले भनिन्। 

अर्की सदस्य धनकुमारी बञ्जाडेले सक्कली लालपूर्जा पाउने आशाले नै १ हजार रुपैयाँ तिरेर संस्थाले दिएको नक्कली लालपूर्जा लिएको बताइन्। ‘हाम्रो चिन्ता लालपूर्जा हो। कतै १ हजार नतिर्दा लालपूर्जा नै नआउने हो कि भनेर पैसा तिरेको हो,’ उनले भनिन्।

नक्कली लालपूर्जा वितरण भइरहेको र गैरकानुनी रुपमा रकम समेत संकलन भएको सूचना पछि बुटवल उपमहानगरपालिकाले टोल विकास संस्थाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ।

नेपाल सरकारले दिने जस्तो लालपूर्जा तयार गरी स्थानीयलाई वितरण गरेको सूचना उपमहानगरपालिकामा पुगेपछि उपमहानगरपालिकाले टोल विकास संस्थामा छापा समेत हानेको छ। लालपुर्जामा टोल विकास संस्थाका सचिव राजकुमार विश्वकर्माको हस्ताक्षर छ।

स्थानीय कुमार पहाडीले गैरकानुनी रुपमा लालपूर्जा वितरण गर्ने भन्दै टोल विकास संस्थाले सोझा जनतालाई झुक्याउने काम गरेको बताए। केही बुद्धिजीवी र अगुवाहरूलाई यसबारे थाहै नदिएको उनको भनाइ छ।

घडेरी हराउला भन्दै, पैसा उठाउँदै

घडेरी र घरको रकम नदिएमा घडेरी हराउन सक्ने भन्दै स्थानीयलाई दबाबमा पारेर रकम उठाउने गरेको खुलेको छ। स्थानीय कुमार पहाडीले उपचारका लागि काठमाण्डौं गएका कतिपयलाई घडेरी हराउन सक्ने भन्दै रकम तिराउन बाध्य पारिएको बताए।

‘घडेरी, घर हराउन पनि सक्छ भनेर उपचारका लागि गएकाहरू समेत फर्केर आएर रकम तिरेका छन्। यस्तो गैर कानुनी काम भएको छ,’ उनले भने। 

बुटवल उपमहानगरपालिकाका भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले गैरकानुनी रुपमा टोल विकास संस्थाले लालपूर्जा वितरण गरेको भन्दै नक्कली लालपूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको बताए।

टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनको भनाइ छ।

उनका अनुसार टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धी काम गरेको पाइएकाले यस संस्थालाई आवश्यक कारबाही गरिनेछ। 

मन्दिर बनाउन पैसा उठाएको दाबी

उता टोल विकास संस्थाले भने मन्दिर पनि बनाउने र टोल विकास संस्थामा रकम नभएकाले १ हजार रकम उठाएको बताएको छ।

टोल विकास संस्थाका अध्यक्ष धन बहादुर गुरुङले नापी कार्यालय जग्गा नापजाँचको लागि आउन लागेको थाहा भएपछि पुराना भएका कागजपत्रलाई व्यवस्थापन गर्नका लागि १ हजार रुपैयाँ उठाएर प्रमाणपत्र दिइएको बताए।

‘२०५९ सालमा स्थापना भएको संस्थाका सबै कागजपत्र पुराना थिए। नापी आउने भनेपछि बुक पनि नवीकरण गरौं। नयाँ प्रमाणपत्र दिउँ भनेर कार्यसमितिको बैठकबाटै यो निर्णय गरेर काम गरेका हौं। लेखाइमा केही कमजोरी भएको हो,’ उनले भने। 

उनले पहिले वितरण गरेको टोकनकै आधारमा अहिले राम्रो र व्यवस्थित प्रमाणपत्र दिइएको बताए। साथै उनले टोलभित्र रहेको दुर्गा मन्दिर भत्केको र त्यसको संरक्षण र निर्माणका लागि पनि यही १ हजारबाटै खर्च गर्ने निर्णय अनुसार रकम उठाएको बताए।

उता टोल विकास संस्थाका सचिव राजकुमार विश्वकर्माले भने आफूहरूलाई गलत नगरेको र असफल बनाउन यो प्रपञ्च रचिएको बताए।

‘हामी गलत छैनौं। टोल विकास संस्थाको नेतृत्व छनोट गर्दा पनि यहाँ अवस्था सहज थिएन। अहिले आफ्नो गाउँ र ठाउँ आफैं बनाउन भनेर लाग्दा हाम्रा विरोधीहरूले यसो गरेका हुन,’ उनले भने।

साउन १८, २०८० बिहीबार ११:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।