सुन तस्करी प्रकरणमा म संलग्न छैन, छानबिन सघाउँछुः कृष्णबहादुर महरा

सुन तस्करी प्रकरणमा म संलग्न छैन, छानबिन सघाउँछुः कृष्णबहादुर महरा
फाइल तस्वीर

सुन तस्करी काण्डमा आफ्नो संलग्नता नरहेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन्।

केही दिनयता आफ्नो नाम जोडेर सञ्चारमाध्यममा आएको भन्द‌ै बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन्। 

'केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु,' महराले लेखेका छन्, 'फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु।'

महराले आफूले फोन गरेको भनी आफ्नो नाम र उल्लेख गरिएको फोन नम्बर पनि आफ्नो नभएको र आफूले प्रयोग गर्ने नगरेको पनि स्टाटसमा लेखेका छन्। 

उनले आवश्यक परे निष्पक्ष छानबिनमामा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। 'अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।' उनले लेखेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नाटकीय रूपमा तस्करी भएको सुन काण्डमा पूर्वसभामुखसमेत रहेका महरा र उनका छोरा राहुलको नाम जोडिएको थियो। यद्यपि उनीहरूविरुद्ध मुद्दा भने चलाइएन। 

गएको पुस १० गते दुबईबाट आएको ‘इलेक्ट्रिक सिगरेट’ (भेप) मार्फत सुन भित्र्याएको अनुसन्धानमा महराको नाम जोडिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले त्यो सुन तस्करीमा महराको संलग्नता रहेको देखाएको थियो। तर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा यससम्बन्धी मुद्दा दायर गर्दा महराको नाम उल्लेख नै गरेको थिएन।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको उक्त भेप लिलामी गर्न दबाब दिएका थिए।

सीआईबीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको थियो।

सीआईबीको प्रतिवेदनमा महरा र उनका छोरा राहुल सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिएको थियो।

सीआईबी स्रोतका अनुसार महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर त्यहाँका सामान आफ्नो व्यापारिक साथीको भएको र त्यसलाई लिलामीमा राखिदिन आग्रह गरेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडीआर) बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको थियो। प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उनीहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ। 

तर महराले आज फेसबुकमा उक्त फोन नम्बर आफ्नो नभएको र आफूले प्रयोग नगर्ने लेखेका छन्। 

यसअघि सुन तस्कर गिरोका सदस्य दावा छिरिङसँग आफ्नो फोटो सार्वजनिक भएको भन्दै माओवादीकै उपमहासचिव वर्षमान पुनले पनि सुन प्रकरणमा आफूसँग जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएका थिए। 

साउन १८, २०८० बिहीबार ११:१३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।