ग्लोबल टी-२० लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, सर्रे शीर्ष स्थानमा

ग्लोबल टी-२० लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, सर्रे शीर्ष स्थानमा

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा सर्रे जागुअर्सले ग्लोबल टी-२० क्यानडामा मिसिसौगा प्यान्थर्सलाई ८ विकेटले हराएको छ। जितपछि सन्दीप आबद्ध सर्रेले क्वालिफायरमा स्थान पनि बनाएको छ।

सर्रे शीर्षस्थानमा रहन सफल भएको हो। 

प्यान्थर्सले जितका लागि दिएको ५७ रनको झिनो लक्ष्य सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। सर्रेको जितमा मोहम्मद हरिस २३ बलमा ६ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहेका थिए। 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको प्यान्थर्स १४.३ ओभरमा ५६ रनमा अल आउट भएको थियो। ​​​​​​​

सन्दीपले आठौं ओभरको पाँचौं बलमा आजम खानलाई २ र टम कुपरलाई शून्यमा आउट गरेका थिए। सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए। उनी म्यान अफ द म्याच घोषित पनि भए। 

कप्तान इफ्तिखर अहमदले ३.३ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए। म्याथ्यु फोर्डले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए। आमर खालिद र आयन खानले एक एक विकेट लिए।

सर्रेले ७ खेलमा ४ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै १० अंकका साथ शीर्षस्थानमा रह्यो। सर्रेले पहिलो क्वालिफायर शुक्रबार साँझ दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ।

दोस्रो स्थानमा दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्टरिएल टाइगर्स छ। उसले ७ खेलमा ४ मा जित र २ मा हारसहित ९ अंक जोडेको छ। 

साउन १८, २०८० बिहीबार ०८:०८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।