माओवादी केन्द्रीय समितिको पहिलो दिनको बैठकमा नेताको सम्पत्ति छानबिनको माग, आफन्तलाई स्वकीय बनाएकोमा व्यङ्ग्य

माओवादी केन्द्रीय समितिको पहिलो दिनको बैठकमा नेताको सम्पत्ति छानबिनको माग, आफन्तलाई स्वकीय बनाएकोमा व्यङ्ग्य

काठमाडौँ : माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय सदस्यको नियुक्तीबारे प्रश्न उठेको छ।

केन्द्रीय सदस्य लक्ष्मण पन्तले दुवैले परिवारका सदस्यलाई सचिवालयमा नियुक्त गरेको भन्दै प्रश्न उठाएका हुन्। प्रचण्डको स्वकीय सचिवमा उनकै छोरी गङ्गा दाहाल छिन् भने नारायणकाजीको स्वकीय सचिवमा भतिज सुरेशकाजी श्रेष्ठ छन्।

सचिवालयमा आफ्नै परिवारका सदस्य नियुक्त गर्नुको कारण डिल गर्न सहज हुन्छ भनेर हो भनेर कटाक्ष गर्दै उनले गणतन्त्रकालमा नारायणहिटी दरबारको ठाउँमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सामन्तवादको नयाँ किल्ला बनेको भन्दै आलोचना गरेको बैठकमा सहभागी स्रोतले बतायो।

बैठकमा बोल्दै केन्द्रीय सदस्य तथा प्रवास कमिटी अध्यक्ष ओम शर्माले ज्वाइँ राेएकै भरमा मन्त्री बनाएको भन्दै आलोचना गरेका थिए। प्रचण्डले ज्वाई जीवन आचार्यलाई दुई पटक कोशीको मन्त्री बनाएका थिए। उनले प्रचण्डको छोरा-छोरीले पार्टी खाएको भन्दै आलोचना गरेका थिए। उनले पार्टीका नेताहरुको सम्पत्ती छानविन गर्न समेत माग गरे।

टिप्पणी गर्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वको आलोचना गरेका थिए। बैठकमा नेता कृष्ण केसी र लक्ष्यराम आचार्यले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका थिए। बैठकमा केन्द्रीय सदस्यसँगै वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन्।

बैठकमा प्रचण्डले सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गर्दै माओवादी पार्टी विघटनको सङ्घारमा पुगेको टिप्पणी गरेका थिए। उनको प्रतिवेदनपछि १८ जना केन्द्रीय सदस्यहरूले टिप्पणी गरेका थिए।

साउन १७, २०८० बुधबार २१:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।