संसदीय सुनुवाइमा लोकबहादुरलाई एमाले मुख्य सचेतकको प्रश्न : अमेरिका लैजान्छु भनेर पैसा उठाउँदै हुनुहुन्छ रे हो?

संसदीय सुनुवाइमा  लोकबहादुरलाई एमाले मुख्य सचेतकको प्रश्न : अमेरिका लैजान्छु भनेर पैसा उठाउँदै हुनुहुन्छ रे हो?

काठमाडौँ : विभिन्न देशको राजदूतका लागि सिफारिसमा परेका ६ जनामाथि बुधवारबाट संसदीय सुनुवाइ शुरुहुँदा पहिलो दिनै तितो प्रश्नको सामना गर्नुपर्यो।

विशेष गरी संयुक्त राष्ट्रसङ्घको आवासीय प्रतिनिधिका लागि सिफारिस भएका लोकबहादुर थापाले तितो प्रश्नको सामना गरे। उनी विरुद्ध संसदीय सुनुवाइ समितिमा यस अगाडि बेल्जियमका लागि राजदूत भएको बेलामा पैसा लिएर दुई जना नेपालीलाई दूतावासमा काममा लगाउन लगेको उजुरी परेको थियो।

सरकारले उनको नाम संयुक्त राष्ट्रसङ्घको आवासीय प्रतिनिधिमा सिफारिस गरेपछि उनले अमेरिका लैजान्छु भन्दै पैसा उठाइरहेको उजुरी समेत समितिमा पुगेको थियो।

त्यही उजुरीहरूमा आधारित भएर बुधवार एमालेका मुख्य सचेतक पदम गिरीले उनलाई तितो प्रश्न गरे' अमेरिका लैजान्छु भनेर पैसा उठाउँदै हुनुहुन्छ भनेर उजुरी आएको छ के हो?’

प्रश्न सुनेर उनी केही बेर अक्मकाए। अनि उत्तर दिए' उजुरी मनगढन्ते हो।' उनले आफू अनि आफ्नो छोराको लागि समेत अमेरिकाको भिसाको प्रक्रिया सुरु नगरेको बताएका थिए।

बेल्जियमको घटनामा उनले नेपालीलाई लगेको स्वीकार गरे तर आफ्नै पैसामा। सरकारी नीति अनुसारै सहयोगका लागि नेपाली नागरिकलाई बेल्जियम लगेको उनको दाबी थियो।

उनले आफ्नै भाइ पनि म्यानपावर एजेन्सीबाट पोर्चुगल गएर अहिले पिआरको प्रक्रियामा रहेको र परराष्ट्रमन्त्रालयमा काम गरेता पनि परिवारका कुनै सदस्यलाई विदेश नपठाएको दाबी समेत गरे।

एमालेका अर्का सांसद महेश बर्तौलाले पनि कडै प्रश्न गरेका थिए। उनले थापालाई राजदूतका लागि पटक पटक सरकारले तपाईँलाई नै किन छान्छ ? भन्दै प्रश्न गरेका थिए।

समितिको सभापतिको चयन नभएकाले बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको रूपमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए।

थापाले समितिको बैठकमा १८ पन्ने आफ्नो कार्य योजना सुनाएका थिए। त्यसमा नेपाल र संयुक्त राष्ट्रसङ्घको सम्बन्ध बलियो बनाउने, नेपालबाट हुने भ्रमण व्यवस्थित बनाउने, नेपालको मुद्दामा संयुक्त राष्ट्रसङ्घका अङ्गलाई सहमत गराउन प्रयत्न गर्ने, नेपालको विकासका लागि आर्थिक सहयोग जुटाउन प्रयत्न गर्ने लगायतका थिए।

साउन १७, २०८० बुधबार २०:५०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।