८८ प्रहरी अधिकृतको बढुवा, महानिरीक्षकले लगाइदिए दर्ज्यानी चिन्ह

८८ प्रहरी अधिकृतको बढुवा, महानिरीक्षकले लगाइदिए दर्ज्यानी चिन्ह

काठमाडौं : नेपाल प्रहरीका ८८ जना अधिकृतको बढुवा भएको छ।

गृह मन्त्रालय सचिवस्तरको साउन १६ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ ८८ जना प्रहरी अधिकृतहरूलाई बढुवा गरेको हो।

उनीहरूलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार दर्ज्यानी चिन्हद्वारा सुशोभित गरे।

सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १६ जना, प्राविधिक प्रहरी वरिष्ठनायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ८ जना र प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६४ जना छन्।

सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारीलाई पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धिलाई अर्जुनदृष्टि बनाएर काम गर्न निर्देशन दिए।

राम्रो काम गर्ने प्रहरी कर्मचारीप्रति संगठन सदैव उदार रही योगदानको कदर गर्दै आएको उल्लेख गर्दै संगठनको प्रतिष्ठामा आँच आउने गरी गैरव्यावसायिक आचरण र क्रियाकलापमा संलग्न हुने छुट कसैलाई नभएको उनले बताए।

उनले भने,  ‘संगठनको लागि कर्मचारीहरूले केही गरे मात्र संगठन बलियो हुन्छ र संगठनले सबैको हकहितको लागि थप कुराहरू गर्ने सामर्थ्य राख्नसक्छ।’

संगठनको नीति तथा निर्देशन अनुसार आफ्नो ज्ञान, बुद्धि र विवेकको सही प्रयोग गरी संगठन सुदृढिकरणका लागि आ-आफ्नोतर्फबाट आत्मसमीक्षा गर्दै अगाडि बढ्न उनले निर्देशन दिए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो।

साउन १७, २०८० बुधबार १८:२६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।