अधिवक्ता भगवती पाण्डेलाई पक्राउको माग गर्दै प्रहरी कार्यालय घेराउ, तीन दर्जन बढी नियन्त्रणमा

अधिवक्ता भगवती पाण्डेलाई पक्राउको माग गर्दै प्रहरी कार्यालय घेराउ, तीन दर्जन बढी नियन्त्रणमा

काठमाडौं : विवादास्पद अभिव्यक्ति दिएकी कानून व्यवसायी भगवती पाण्डे (शीतल)लाई पक्राउको माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न गएका तीन दर्जन बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं घेराउ गर्न गएका तामाङ र मगर समुदायका तीन दर्जन बढी आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी चार्ज गरेको भन्दै नेपाल तामाङ घेदुङ सङ्घीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिले संयुक्त विज्ञप्ति निकालेर त्यसको भर्स्तना गरेका छन्।

यद्यपि आन्दोलनमा ढुङ्गा प्रहार भएपछि प्रहरीले लाठीचार्ज गरेकाे खुलेको छ। प्रहरी कार्यालयमा ढुङ्गा प्रहारबाट परिसरमा राखिएको डिजिटल बोर्डमा क्षति पुगेको छ।

अध्यक्षद्वय मोहन गोले तामाङ र ज्ञानेन्द्र पुन मगरले निकालेको विज्ञप्तिमा सबै आन्दोलनकारीलाई निःशर्त तत्काल रिह गर्न माग गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई रिहाइ नगरेमा बिहीबारदेखि अनिश्चितकालीन देशव्यापी आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।

पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मगर र तामाङ समुदायले गर्ने मामाचेला फूपुचेलीको विवाह विज्ञानकाे हिसाबले ठिक नभएको बताएकी थिइन्।

उनको त्यहि अभिव्यक्तिलाई लिएर तामाङ र मगर समुदायका विभिन्न संघसंस्थाले प्रहरीमा उजुरी दिएका थिए।

त्यसपछि उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो।

साउन १७, २०८० बुधबार १६:२१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।