केवलकारको टिकट ५० प्रतिशत सस्तिएपछि लुम्बिनीमा बढे पर्यटक

केवलकारको टिकट ५० प्रतिशत सस्तिएपछि लुम्बिनीमा बढे पर्यटक

बुटवल : टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ।

केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ देखि १२ बजेसम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित मर्निङ अफर शुरू गरेसँगै पर्यटक बढेको हो।

केबलकारको दुईतर्फी यात्राका लागि साधारण टिकट दर ७५० रुपैयाँ रहेकोमा मर्निङ अफर को लागि ३७५ रुपैयाँ मात्र कायम गरिएको छ।

टिकट सस्तो भएको थाहा पाएपछि बुधबार बिहान ९ नबज्दैदेखि १२ बजेसम्म केबलकारमा सर्वसाधारणको उत्साहजनक उपस्थिति र चहलपहल बढेको थियो।

यसअघि केबलकारमा प्रति दिन औसतमा ५ सय जना पर्यटक आउने गरेकामा मर्निङ अफरको दिन भने १ हजार भन्दा बढी पर्यटक केवलकारमा आएको अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए।

सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्मका लागि यो अफर ल्याएको सैंजूले बताए।

आइएमई ग्रुपको अगुवाइमा कुल ५ अर्ब लागतको लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो। यो अफरमा भारतीय नागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउनेछन्।

२ दशमलव ६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन पाल्पाको बसन्तपुरमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ।

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।

समुद्री सतहबाट ९६० मिटर उचाइमा रहेको बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शितल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको थलो बनेको छ।

केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुटाएको छ।

साउन १७, २०८० बुधबार १५:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।