आन्तरिक ऋण उठाउन ट्रेजरी विल्स र विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

आन्तरिक ऋण उठाउन ट्रेजरी विल्स र विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक ऋण उठाउन ट्रेजरी विल्स र विकास ऋणपत्र बिक्री सुरु गरेको छ। बैङ्कले साउनबाटै आन्तरिक ऋण उठाउन ट्रेजरी विल्स र विकास ऋणपत्रको विक्री सुरु गरेको हो।

बैङ्कले साउन १९ गतेदेखि ६ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्दै छ। बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने गरी विकास ऋणपत्र २०८६ जारी गर्न लागेको हो।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुनसक्ने छन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८.५ अर्ब र रु.१.५ अर्ब छुट्टाइएको छ।

अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्टाइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने छ। अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्टाइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ।

यसअघि पनि केन्द्रीय बैङ्कले झन्डै ५० अर्ब रुपैयाँको ट्रेजरी विल्स बिक्री तथा नवीकरण गरिसकेको छ। राष्ट्र बैङ्कले पहिलो त्रैमासमा नै ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।

साउन १७, २०८० बुधबार १५:११:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।