स्थापना भएको १६ वर्षमा पनि नेपाल ट्रष्टले विदेशमा भेटेन राजा वीरेन्द्रको परिवारको सम्पत्ति

स्थापना भएको १६ वर्षमा पनि नेपाल ट्रष्टले विदेशमा भेटेन राजा वीरेन्द्रको परिवारको सम्पत्ति

काठमाडौँ : राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने भनेर नेपाल ट्रस्ट बन्यो। तर यस कार्यालयले हालसम्म वीरेन्द्रको परिवारको नाममा स्वदेश र विदेशमा रहेको सम्पत्ती फेला पार्न सकेको छैन।

२०६४ सालमा स्थापना गरिएको यो कार्यालय संविधानमार्फत नै स्थापना भएको हो। कार्यालयले नेपालमा भएका केही सम्पत्ती फेला पार्यो। तर वीरेन्द्रको परिवारका सदस्यका नाममा विदेशमा रहेको कुनै पनि सम्पत्ति पत्ता लगाउन सकेको छैन। 

ट्रष्टको पहिलो र मुख्य उद्देश्य नै राजपरिवारका सदस्यको नाममा देश तथा विदेशमा भएको सम्पत्ति छानबिन गरेर आफ्नो स्वामित्वमा ल्याउनु हो। उसले नेपालमै स्थापनाकालदेखि हालसम्म १२ जिल्लामा रहेका २१ हजार ६३३ रोपनी १५ आना जग्गा  ट्रष्टको स्वामित्वमा ल्याएको छ।

विदेशमा भएको चल-अचल सम्पत्ति स्वामित्वमा ल्याउनु त परको कुरा कार्यालयले खोजबिन शुरु समेत गर्न सकेको छैन।

कार्यालयकी सूचना अधिकारी सरस्वती पौडेल खनाल भन्छिन्, 'हामीलाई पनि यहाँ छ भनेर थाहा भए पो पत्ता लगाउन र स्वामित्वमा ल्याउन सजिलो हुन्छ। केही थाहा नभई विदेशमा जाँदा खर्च मात्र बढी हुने देखिन्छ।’ 

कहिले पत्ता लाग्ला ?

सूचना अधिकारी खनालका अनुसार अघिल्लो वर्ष ट्रष्टका केही सदस्य बाहिर अनुगमन गर्न गए पनि खासै केही नयाँ कुरा पत्ता लगाउन सकेन। यस वर्ष फेरि विदेशमा राजपरिवारका नाममा रहेका सम्पत्ति खोजी गर्ने योजना ट्रस्ट कार्यालयले बनाएको छ।

त्यसैअनुरूप परराष्ट्र मन्त्रालयमा पत्राचार पनि भइसकेको छ। तर, कसरी बढ्ने र कहाँ कहाँ जाने भन्ने कुरा भने अझै टुंगो लागिसकेको छैन। 

नेपालमा भएको केही विदेशी पैसाहरू भने ट्रष्टले लेखाजोखा राखेको पाइएको छ। ट्रष्टको नाममा अहिले विभिन्न वाणिज्य बैंकमा पाउण्ड स्टर्लिङ ५१ हजार ८१५, अमेरिकी डलर १ लाख ५७ हजार ५९८ रहेको छ। 

ट्रष्टलाई हरेक वर्ष विदेशस्थित चल तथा अचल सम्पत्तिको खोजबिन कार्यमा थप प्रभावकारिता ल्याउन महालेखा परीक्षकको प्रतिवेदनले पनि झस्काइरहन्छ। तर ट्रष्टले विदेशको हकमा भने केही प्रभावकारी काम गर्न सकिरहेको देखिँदैन। 

सधैँ एउटै कुरा !

महालेखाले हरेक वर्ष प्रतिवेदनमा ट्रस्टको कार्य प्रभावकारी नभएको उल्लेख गर्छ। ट्रष्टले पनि आफ्नो वार्षिक प्रतिवेदनमा स्पष्टीकरण मात्र दिइरहन्छ। 

'ट्रष्टमा आउनुपर्ने विदेशस्थित हुन सक्ने सम्भावित सम्पत्ति खोजबिन गर्ने कार्य झन्झटिलो र बढी खर्चिलो देखिन्छ। पर्याप्त श्रोत साधन र दक्ष जनशक्तिको अभावमा सम्पूर्ण अचल सम्पत्तिको संरक्षण तथा संरचनाहरूको मर्मत सम्भार कार्य प्रभावकारी हुन सकेको छैन,' ट्रस्टको प्रतिवेदनमा भनिएको छ, 'साथै ट्रष्टको स्वामित्वका सम्पूर्ण जग्गाको सदुपयोग हुन नसकेको कारण अतिक्रमणको खतरा बढेको छ।’

आफ्नो वार्षिक प्रतिवेदन पनि ट्रष्टले अपडेट गरिरहेको देखिँदैन। ट्रस्टको वेबसाइटमा आर्थिक वर्ष २०७७/७८ पछिको वार्षिक प्रतिवेदन पनि भेटिँदैन। तर, त्यहाँ वार्षिक प्रतिवेदन दुई वर्षअघिको भए पनि चल सम्पत्तिको विवरणबाहेक अरू कुनै पनि फरक नपर्ने खनालले बताइन्।

'हामीले त्यहाँ उल्लेख गरेको समस्या अझै पनि त्यही नै हो। विदेशमा जान पर्यो भने कर्मचारीलाई खाना, बस्नको व्यवस्था दिनैपर्छ। अब कति जनालाई कति दिनका लागि दिने भन्ने कुरा पनि आउँछ,’ उनले भनिन्। 

मोही लागेका जग्गा पनि एकल स्वामित्व कायम गर्न सकेन

त्यस्तै ट्रष्टले विदेशस्थित सम्पत्तिको पत्ता लगाउनुका साथै केही द्वैध स्वामित्व (मोही लागेका) का जग्गाको एकल स्वामित्व कायम गर्न पनि चुनौतीपूर्ण रहेको जनाएको छ। तर, सबैसँग छलफल गरेर बढ्ने खनालले बताइन्। काठमाडौँमै पनि ट्रस्टको अधिकांश जग्गा मोहीले प्रयोग गरिरहेको देखिन्छ। 

ट्रष्टका अनुसार २०७८/७९ को अन्त्यमा चालु खातामा ट्रष्टको मौज्दात ३ करोड ७८ लाख ४१ हजार ०७३ छ। अनि मुद्दती खातामा भने विभिन्न बैंकमा १ अर्ब १६ करोड ३ लाख ५० हजार रुपैयाँ छ। यसैगरी विभिन्न ३ बैंक तथा वित्तीय संस्थाको शेयर संख्या ११ लाख २ हजार ६७२ कित्ता रहेको देखिन्छ। 

महालेखाको ६० औं वार्षिकोत्सव प्रतिवेदनअनुसार ट्रष्टको कुल आय १ अर्ब २० करोड ८८ लाख २३ हजार भएकोमा, ३ बैंकको १७ मुद्दती खातामा न्यूनतम ७.५ देखि अधिकतम १०.१३ प्रतिशत वार्षिक ब्याज आर्जन हुने गरी १ अर्ब १६ करोड ३ लाख ५० हजार लगानी गरी बाँकी रकम विभिन्न बैंक खातामा राखी ८ करोड ४० लाख ९४ हजार ब्याज आर्जन गरेको छ। 

लिज भाडामा दिने तर, अनुगमन नगर्ने

त्यस्तै ट्रष्टले यस वर्ष लिज भाडाबापत ९ संस्थाबाट १० करोड २० लाख ९९ हजार आय आर्जन गरेको छ। काठमाडौंबाहेक कास्की, चितवन, मकवानपुर, धनकुटामा पनि ट्रष्टले ऐतिहासिक तथा पुरातात्विक भवन कोषको आम्दानी बढ्ने गरी लिज भाडामा दिँदै आएको छ। तर, उक्त संरचना निर्माणको भौतिक प्रगति भने ट्रष्टले अनुगमन गरेको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

साथै लिजमा दिइने सम्पत्तिको वैकल्पिक प्रयोग गर्न सकिने सम्भावना र विज्ञबाट अध्ययन नगराई विनाप्रतिस्पर्धा लिज अवधि बढाएको पनि देखिएको कारण सम्पत्ति लिजमा दिँदा अधिकतम लाभ हासिल हुने गरी प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन गर्नुपर्ने समेत महालेखाले औंलाएको देखिन्छ। 

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले 'राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरूको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ' भन्ने व्यवस्था गरेसँगै नेपाल ट्रष्टको स्थापना भएको थियो।

अनि सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भई नेपाल ट्रष्ट स्थापना भएको हो। 

साउन १७, २०८० बुधबार ११:३०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।