मेटाले क्यानडामा फेसबुक र इन्स्टाग्राममा किन समाचार ब्लक गर्न थाल्यो ?

मेटाले क्यानडामा फेसबुक र इन्स्टाग्राममा किन समाचार ब्लक गर्न थाल्यो ?

मेटाले क्यानडामा फेसबुक र इन्स्टाग्राममा समाचार ब्लक गर्न थालेको छ।

सामाजिक सञ्जाल कम्पनीहरूले समाचारको बदलामा समाचार प्रकाशकलाई पैसा तिर्नुपर्ने कानुनको विरोधमा मेटाले यो निर्णय गरेको हो।

नयाँ नियम फेसबुक, गुगल र ट्विटरलगायत सबै सामाजिक सञ्जाल कम्पनीहरूमा लागू हुनेछ। गुगलले पनि यस्तै चेतावनी जारी गरेको छ। 

मेटाले एक विज्ञप्तिमा भनेको छ- फेसबुक र इन्स्टाग्राममा समाचार प्रकाशकहरूले साझा गरेको समाचार लिंकहरू ब्लक गरिएको छ र कुनै पनि प्रयोगकर्ताहरूले देख्न सक्ने छैन।'

मेटाले यो मंगलबारबाट सुरु भएको र धेरै हप्तासम्म चल्ने बताएको छ, यद्यपि एएफपी रिपोर्टरले फेसबुकमा समाचार देखेको दाबी गरेका छन्। तर धेरै प्रयोगकर्ताले समाचार लिंकहरू ब्लक गरिएको दाबी गरिरहेका छन्।

अष्ट्रेलियाजस्तै क्यानाडाले क्यानाडाली मिडियालाई समर्थन गर्ने उद्देश्यले अनलाइन समाचार ऐन पेश गरेको छ। क्यानडाका धेरै मिडिया हाउसहरू पछिल्ला केही वर्षहरूमा बन्द भएका छन् र धेरैले लाखौं डलर गुमाएका छन्।

नयाँ कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले मिडिया हाउससँग साझेदारी गरी समाचारको सट्टामा पैसा तिर्नुपर्ने बनाइएको छ। 

क्यानाडाको संसदीय बजेट वाचडगको अनुमानअनुसार क्यानाडाका समाचारपत्रहरूले नयाँ कानूनअन्तर्गत डिजिटल प्लेटफर्महरूबाट प्रतिवर्ष करिब ३३० मिलियन डलर प्राप्त गर्न सक्छन्।

मेटाले भनेको छ- मिडिया हाउसहरूले आफ्नो प्लेटफर्ममा समाचार साझा गर्नबाट फाइदा लिन्छन्। उनीहरूले नयाँ पाठकहरू पाउँछन् र उनीहरूको समाचार विश्वव्यापी रूपमा पुग्छन्। त्यसैले अतिरिक्त पैसा तिर्नुको कुनै अर्थ छैन।

साउन १७, २०८० बुधबार १०:४०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।