माओवादी केन्द्रीय समिति बैठक आजदेखि, प्रत्यक्ष प्रसारणको तयारी

माओवादी केन्द्रीय समिति बैठक आजदेखि, प्रत्यक्ष प्रसारणको तयारी
फाइल तस्वीर

काठमाडौँ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ।

बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक उद्घाटन गर्ने कार्यक्रम छ। बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको छ। 

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

बैठकले सरकारको कामकारबाहीबारे पनि समीक्षा गर्नेछ। सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ।

बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य  र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन्।

बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए।

माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ। बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए।

बैठकको कार्यसूचीलगायतलाई पूर्णता दिन आज बिहान माओवादीको स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।

साउन १७, २०८० बुधबार ०७:४१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।