सिंहदरबारको प्रबलीकरणको काम ९२ प्रतिशत सकियो, तीन महिनामा सबै काम सक्न मन्त्री गुरुङको निर्देशन

सिंहदरबारको प्रबलीकरणको काम ९२ प्रतिशत सकियो, तीन महिनामा सबै काम सक्न मन्त्री गुरुङको निर्देशन

काठमाडौँ : सिंहदरबारको पश्चिम खण्डको प्रबलीकरणको काम तीन महिनाभित्र सम्पन्न गर्न सहरी विकास मन्त्री सीता गुरुङले निर्देशन दिएकी छिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी खण्डको प्रबलीकरणको कामको स्थलगत निरीक्षण गर्दै मङ्गलवार उनले असोजभित्र सम्पन्न गर्न निर्देशन दिएकी हुन्।

‘प्रबलीकरण निकै जटिल र संवेदनशील काम हो, पुरानो संरचनालाई जस्ताकोतस्तै पुनर्निर्माण गर्नु चुनौती थियो, विभिन्न चुनौतीलाई सामना गरेर भए पनि सिंहदरबार अब पुरानै अवस्थामा ढडिएको छ’ उनले भनिन्।

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई प्रबलीकरण गरेर सञ्चालनमा ल्याउँदा आम नागरिकमा प्रबलीकरणप्रति विश्वास बढ्ने मन्त्री गुरुङले बताइन्।

सिंहदरबारको पश्चिम खण्डको काम हालसम्म ९२ प्रतिशत सम्पन्न भएको छ। करिब ५० करोड लगानीमा पश्चिम खण्डको प्रबलीकरणको काम भइरहेको छ। प्रबलीकरणको जटिल मानिएको काम सम्पन्न भएर हाल रंगरोगन र फिनिसिङको काम भइरहेको छ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको प्रबलीकरण (रेक्ट्रोफिटिङ) विधिबाट  पुनर्निर्माण काम अघि बढाइएको थियो।

सिंहदरबारलाई भत्काएर नयाँ बनाउने कि प्रबलीकरण गर्ने भन्ने लामो बहसपछि अन्ततः तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षति भएका पुरातात्त्विक  महत्वका ऐतिहासिक दरबारहरूको प्रबलीकरण मार्फत पुरानै शैलीमा निर्माण गर्ने निर्णय गरेको थियो।

निर्माण सम्पन्न उत्तर दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरू सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ को प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको हो।

पश्चिमी खण्डको भने भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै शैलीमा चुना र सुर्कीको प्रयोग गरेर गरिएको छ। भवनमा काठ फलामको पाता, सुर्की चुना लगायतका निर्माण सामाग्रीको प्रयोग गरेर  प्रबलीकरण गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए।

शर्मा न्यु टेक्निकलले अहिले पश्चिमी खण्डको प्रबलीकरणको काम गरिरहेको छ। २०७६ असोज २७ बाट प्रबलीकरणको काम सुरु भएको थियो।

साउन १६, २०८० मंगलबार २१:३३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।