एमालेको नयाँ प्रस्तावले छानिएन नयाँ प्रधानन्यायाधीश

एमालेको नयाँ प्रस्तावले छानिएन नयाँ प्रधानन्यायाधीश

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेले प्याकेजमै डिल गर्न खोजेपछि दुई घण्टा चलेको संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम चयन गर्न सकेन। सत्ताधारीले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने अजेण्डा राखेर बैठक राखेका थिए। तर एमालेले रिक्त अन्य संवैधानिक निकायसँगै संसदीय समितिको नेतृत्वको विषय समेत उठाएपछि बैठक निर्णयमा पुग्न सकेन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलवार दिउसोबाट बैठक सुरु भएको थियो। सरकारकोतर्फबाट नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रस्ताव आएपछि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगायतकाबाट संसदको संसदीय समिति र महालेखा परीक्षकको नियुक्ति समेत एकै पटक टुङ्ग्याउन प्रस्ताव गरे।

सरकार अन्य प्रस्तावको तयारीविनाकै बैठकमा सहभागी भएकाले सामान्य छलफलभन्दा बैठक अगाडि बढ्न सकेन।

जेठ सात गतेबाट महालेखा परीक्षकको पद पनि रित्तै छ। सरकारले सिफारिस गरेको छैन। तर सरकारले साउन २० बाट रिक्त हुने सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको अजेण्डा मात्र बनाएको थियो।

प्रमुख प्रतिपक्षी दलबाट अन्य विषयको समेत प्रवेश भएपछि साउन १८ मा बस्नेगरि मङ्गलवारको बैठक स्थगित गरियो।

साउन १६, २०८० मंगलबार १९:२४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।