सुरेश अधिकारीका सिर्जनामाथि लागेको प्रतिबन्ध हट्यो

सुरेश अधिकारीका सिर्जनामाथि लागेको प्रतिबन्ध हट्यो

काठमाडौं : नेपालमा प्रसारित रेडियोहरूले संगीतकार सुरेश अधिकारीका सिर्जनामाथि लगाएको प्रतिबन्ध हटाएको छ।

मंगलबार रेडियो ब्रोडकाष्टर्स फोरम नेपालका अध्यक्ष आरके श्रेष्ठ, ब्रोडकाष्टिङ एसोसियसन अफ नेपालका अध्यक्ष कुमार भट्टराई र सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिबन्ध हटाएको घोषणा गरेका हुन्।

अधिकारीले देशका एफएम रेडियोहरू र यसमा संलग्नहरूलाई मानमार्दन हुने अभिव्यक्ति दिएको भन्दै तीन वटा संघ मिलेर गत साउन ४ गते अधिकारीका सिर्जनामा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए।

अधिकारीले सामाजिक सञ्जालमार्फत माफी मागेपछि उनीविरुद्ध लगाएको प्रतिबन्ध हटाएका हुन्। रेडियोकर्मीहरूले संगीत रोयल्टी संकलन तथा वितरणलाई व्यवस्थित एवं पारदर्शी रुपमा अघि बढाउने कार्यमा सहकार्य गर्नसमेत अधिकारीलाई आह्वान गरेका छन्।

साथै तीन संगठनले रोयल्टी संकलन तथा वितरण प्रणालीमा आवश्यक कानून निर्माण गर्न र एफएम रेडियोहरूका नवीकरणमा भइरहेको अवरोध तत्काल हटाउन सरकारसँग माग गरेका छन्।

साउन १६, २०८० मंगलबार १७:३५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।