लुम्बिनीमा लम्की स्किनका कारण ५ हजार बढी पशु मरे

लुम्बिनीमा लम्की स्किनका कारण ५ हजार बढी पशु मरे
डा. परबेज आलम

बुटवल : लुम्बिनी प्रदेशमा लम्की स्किन रोगबाट ५ हजार बढी पशुको मृत्यु भएको छ। लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार हालसम्म यस रोगका कारण प्रदेशमा ५ हजार ६४६ पशुको मृत्यु भएको छ। 

त्यसैगरी हालसम्म प्रदेशमा १ लाख ८१ हजार ९३५ पशु यो रोगको संक्रमणमा परेका छन्। लुम्बिनी प्रदेशमा पहिलो पटक २ साउन २०७७ मा लम्की स्किन रोगको संक्रमण फेला परेको थियो।

निर्देशनालयका निर्देशक डा. परबेज आलमले लुम्बिनी प्रदेशमा लम्की स्किन रोगका कारण १२ करोड ५० लाख बराबरको क्षति भएको बताए।

लम्की स्किन रोग लागेका पशुबाट ५० प्रतिशतसम्म दूध उत्पादनमा कमी हुने भन्दै उनले अहिले प्रदेशमा दैनिक १ करोड ५० लाखको आर्थिक क्षति भइरहेको बताए।

हाल प्रदेशमा प्रदेश स्तरीय लम्की रोग नियन्त्रण कार्यदल गठन गरेर रोगको नियन्त्रणको पहल भइरहेको छ। प्रदेशमा अहिले ३० लाख बढीको औषधी तथा खोप खरिद गरी परिचालन गरिएको निर्देशनालयले जनाएको छ। 

हालसम्म ३८ हजार ७९३ खोप तथा १ लाख २ हजार ४७६ पशुको उपचार गरिएको र त्यसका लागि ६३८ जनशक्ति परिचालन गरिएको बताइएको छ। स्थानीय तहबाट पनि लम्की स्किन रोगको खोप लगाउने कार्य भइरहेको छ। यो रोगबाट प्रदेशमा २३ हजार ९२७ पशु निको भएको छन्।

साउन १६, २०८० मंगलबार १७:२३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।