गम्भीर अपराधमा जोडिएका माओवादी शीर्ष नेतालाई सधैँ उन्मुक्ति, सामान्य सोधपुछ गर्ने हिम्मतसम्म गर्दैन प्रहरी
काठमाडौं : पछिल्लो समय माओवादी केन्द्रका शीर्ष तहका नेताहरू एकपछि अर्को गम्भीर अपराधमा जोडिँदै आएका छन्। तर, उनीहरू अनुसन्धानको दायरामा आएका छैनन्।
उनीहरू जोडिएको अपराध अन्तर्देशीय हो। अनुसन्धानको दायित्व पाएका सरकारी अंगले अनुसन्धान पनि गरेका छन्, तर माओवादी नेताहरूलाई उन्मुक्ति दिएर।
विभिन्न कम्पनीको नाममा नेपालबाटै अमेरिकामा रहेका वृद्धहरूलाई झुक्याएर रकम ठगी गरेको अभियोग लाग्यो पृथ्वीबहादुर शाहलाई। उनले ठगी गरेको रकम विभिन्न कम्पनीको नाममा नेपाल भित्र्याएपछि नेपाल राष्ट्र बैंकले रोकेको थियो।
राष्ट्र बैंकले रोकेको रकम खुलाउन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले शाहलाई सघाउन राष्ट्र बैंकमा दबाब दिएको सार्वजनिक भयो। पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शाहसहित उनको समूहमाथि नै अनुसन्धान गर्यो।
शाहसहित २० जनाविरुद्ध ठगी, सार्वजनिक लिखित कीर्ते र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा पुग्दा माओवादी केन्द्रका उप-महासचिव शर्माको भूमिकाबारे सामान्य अनुसन्धानसमेत गरेन सीआईबीले। न त शाह र शर्माबीचको सम्बन्ध नै केलाउने प्रयास गर्यो।
शर्मालाई अनुसन्धानको दायराबाट पूरै बाहिर राखेर अदालतमा पुगेको मुद्दामा शाहसहित चार जना पुर्पक्षका लागि थुनामा गए। शाह संलग्न अपराध साइबर ठगीसँगै अन्तर्देशीय अपराध थियो।
घटनाका पीडितहरूले नेपालस्थित अमेरिकी दूतावासमार्फत उजुरी दिएका थिए। अनि शाहले विभिन्न बैंकमा अमेरिकाबाट ल्याएको ठगीको रकम झिकिसकेका थिए।
करिब एक करोड रकम रोकिएपछि उनले शर्मामार्फत राष्ट्र बैंकका गभर्नरलाई दबाब दिएर रोकिएको खाता खुलाउने असफल प्रयास गरेका थिए।
शाहको ठगी जालो केलाउँदा शर्माको सार्वजनिक भएको भूमिकाकै आधारमा पनि उनी अनुसन्धानको दायरामा तानिने पर्याप्त आधार देखिन्छ। तर, सीआईबीले हिम्मतै गरेन। सामान्य सोधपुछसमेत गरेन प्रहरीले।
शर्मामात्रै हैन अहिले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अनि उप-महासचिव वर्षमान पुनसमेत अर्को गम्भीर अन्तर्देशीय अपराधमा जोडिएका छन्। यी दुवैको नाम सुन तस्करीमा जोडिएको छ।
सय किलो सुन तस्करीमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङसँग पुनको पारिवारिक सम्बन्ध देखिएको छ। पुनले दावाको श्रीमतीसँग पारिवारिक सम्बन्ध रहेको स्वीकार गरेका पनि छन्।
तर, सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अनुसन्धानको चुनौती दिए।
सुन तस्करीमा पुनको प्रत्यक्ष संलग्नताबारे थप तथ्य खुलिसकेको छैन। अहिले उनी विवादमा तानिनुको कारण उनकी श्रीमतीसँग दावा र उनको श्रीमतीको पारिवारिक माहोलको तस्बिर नै हो।
तर, कृष्णबहादुर महरा र उनको छोरा राहुल पारिवारिक तस्बिर वा सामान्य सम्बन्धका कारण हैन, शंकास्पद सम्पर्क जालोका कारण सुन तस्करीमा जोडिएका हुन्।
सय किलो सुनमा हैन, उनी इलेक्ट्रिक चुरोट ‘भेप’को आवरणमा तस्करी भएको ९ किलो सुनको घटनामा जोडिए। शंका हैन, प्रत्यक्ष। त्यो पनि सीआईबीको अनुसन्धानमा।
२०७९ पुस १० गते फ्लाइ दुबईको उडानबाट नेपाल भित्र्याएको ७ सय ३० वटा भेप भन्सारले छानबिन गर्न राख्यो। भेपभित्र सुन रहेको चाल पाएपछि भन्सारका कर्मचारी मिलेर भेप नै साटेर सुन बिक्री गरे।
असार २८ गते जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रसँगै सरकारी वकिल कार्यालयमा पुगेको मिसिलमा यो घटनामा जोडिएका ३२ जनाको सम्पर्क जालो केलाउँदा महराका बाबु-छोरा सुन ल्याउने सात जनाको समूहमा परे।
महरा बाबु-छोरा यो समूहमा पर्नुको कारण सुन तस्करी गर्ने चिनिया नागरिकसँगको बाक्लो फोन सम्पर्क अनि भन्सारका कर्मचारीसँगको सम्बन्ध।
सामान्य सम्पर्क पनि हैन, निकै बाक्लो फोन सम्बन्ध देखायो सीआईबीको अनुसन्धानले। प्रहरी अनुसन्धानमा सुन तस्करीका मुख्य नाइके देखिएका चिनियासँग बाबु-छोराकै बाक्लो सम्पर्क अनि छोरा राहुलले भेपको लिलामी प्रक्रियाबारे भन्सारका अधिकारीसँग जानकारी लिनुले उनीहरू अनाहकमा यो प्रकरणमा जोडिएको हैनन् भन्ने देखाउँछ नै।
तर, उनीहरूलाई सीआईबीले सामान्य सोधपुछसमेत गरेन। त्यतिकै उन्मुक्ति दियो। धन्न सीआईबीले अनुसन्धानको मिसिलमा भने सबै सम्पर्क जालो खुलायो जुन कारण महरा बाबु-छोराको पोल खोल्यो।
अनुसन्धान विवरणमा सुन ल्याउने समूहमा महरा बाबु-छोराको नाम राख्नु तर उनीहरूलाई अनुसन्धानको सामान्य प्रक्रियामा समेत नजोड्ने घटनाक्रमले सीआईबीमाथि महरा बाबु-छोरामाथि अनुसन्धान नगर्न दबाब परेको प्रष्ट पार्छ।
यदि उनीहरूको कुनै संलग्नता नभएको र सामान्य सम्पर्क मात्र देखिएको भए सीआईबीले सुन ल्याउने समूहका सदस्यहरूको सूचीमा किन महरा बाबु-छोराको नाम राख्यो ? नाम राखिसकेपछि सामान्य सोधपुछसमेत नगरी किन अनुसन्धानको दायराबाट पूरै बाहिर राख्यो?
घटनाक्रमले नै धेरै खुलाउँछ। तर, महराले सामाजिक सञ्जालमा सामान्य प्रतिक्रिया राखेर यो प्रकरणमा आफू संलग्न नभएको लेखे। सीआईबीका अधिकारीहरू दोस्रो चरणको अनुसन्धान हुँदैछ भन्ने बहाना बनाएर बसेका छन्।
सय किलो सुनको अनुसन्धानको क्रममा जब राजश्व अनुसन्धान विभागले होटल भियनासँग जोडिएका दावा छिरिङ समात्यो, त्यसमा उप-महासचिव पुन जोडिए। तस्बिरहरूका कारण उनी जोडिए।
दावासँग उनको भन्दा बाक्लो सम्बन्ध देखियो माओवादीका पूर्वकमाण्डर तथा तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनका परिवार। दावासँग पुनको परिवारका सबै सदस्यको बाक्लो उठबस र पारिवारिक सम्बन्ध नै देखियो।
उनका दुवै छोरा अनि बुहारीको दावासँग घनिष्ठ सम्बन्ध देखायो। उनीहरूले औपचारिक कार्यक्रममा भेट हुने गरेको अपत्यारिलो तर्क गरिरहेका छन्, दावासँगको सम्बन्धबारे। तर, भाइटीका लगाइदिनेदेखि घुमघामका बाक्ला तस्बिरले उनीहरूबीचको सम्बन्ध औपचारिक मात्रै हो भन्ने देखाउँदैन।
सय किलो सुन तस्करीको अनुसन्धान अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का अतिनिकट राजश्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाले गरिरहेका छन्।
अनुसन्धान सुरु भएको आज (मंगलबार) १३ दिन भयो। यो बीचमा १८ जना पक्राउ गरिसकेका छन्। काठमाडौंका विभिन्न स्थानमा रहेका गोदाममा छापा मारिरहेका छन्। तर, पुन परिवारका सदस्यको खोजी भएको छैन।
दावा समातिएको नै तीन दिन भइसक्यो। तीन दिनसम्म विभागले पुन परिवारका कुनै सदस्यलाई अनुसन्धानको दायरामा नल्याएको घटनाक्रमले उनीहरूले पनि महराका बाबु-छोराले जस्तै अनुसन्धानको सामान्य प्रक्रियाबाटै उन्मुक्ति पाउने सम्भावना बलियो देखिन्छ।
१४ वर्षमा पनि नसमातिएका माओवादी नेता
पूर्वजनमुक्ति सेनाका डिभिजन कमाण्डर कालीबहादुर खाम सरकारी सूचीमा फरार रहेको १४ वर्ष बढी भइसक्यो। पहिला उनी चितवनको शक्तिखोर शिविरमा व्यापारी रामहरि श्रेष्ठको हत्याको घटनामा जोडिएर फरार भएका थिए।
पछि उनी ठमेलमा यार्चागुम्बा लुटेको, वन कार्यालयको छाप र कागजपत्र नक्कली बनाएको र अवैध हतियार राखेको गरेर थप आपराधिक घटनामा जोडिए।
प्रचण्ड सत्तामा हुँदा होस् नेकपाकालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा होस्, खामका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ढोका सधैँ खुल्ला नै रह्यो। तर, उनी कहिल्यै पक्राउ परेनन्। उनी अझै पक्राउ पर्ने सम्भावना देखिएको पनि छैन।
साउन १६, २०८० मंगलबार १७:११:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।