राजीनामा उचित हैन तर परिवेशले बाध्य गरायो : सभामुख गौतम
काठमाडौं : कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले परिवेशले आफूलाई राजीनामा गर्न बाध्य तुल्याएको बताएका छन्।
मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा गौतमले राजीनामा बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशको स्थायित्वका लागि आफ्नो राजीनामा उचित नभए पनि बाध्यात्मक परिस्थित परेको बताए।
‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन। मेरो प्रष्ट कुरा छ। म कसैसँग अप्ठेरो नमानी भन्नसक्ने कुरा त्यही नै हो’ उनले भने, ‘तर परिवेशले मलाई त्यहाँ पुर्यायो र मैले त्यो (राजीनामा)गर्ने भएँ।’
गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन्।
माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्याउनका लागि राजीनामा दिएका हुन्।
गौतमले राजीनामा दिएपछि उनकोसमेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्।
साउन १६, २०८० मंगलबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।