इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
काठमाडौं : इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी म्याग्दी साविक अर्मन गाविस-२ ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ।
विकले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाइ रेकर्ड गरेका नग्न भिडियो, फोटोहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक एकाउन्ट बनाइ ती सामग्री पोर्न साइटमासमेत अपलोड गरी चरित्र हत्या गरेका थिए।
सो सम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका विकलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेशियासँग समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।
निज विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम विकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो।
विकलाई आवश्यक कानूनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ।
साउन १६, २०८० मंगलबार १६:२३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।